बेलायतमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै, सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने

लन्डन ।बेलायतमा कोरोना संक्रमणका केसहरु क्रमश: घट्न थालेपछि संक्रमण नियन्त्रणको प्रयासमा लागू गरिएका प्रतिवन्धहरु केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् ।

जसअनुसार आगामी २७ जनवरीदेखि जनजीवन सामान्य बनाउने र कर्मचारीले कार्यलयमा गएर काम गर्न सक्ने बताइएको छ। त्यस्तै कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन् । तोकिएका निश्चित स्थानबाहेक सार्वजनिक स्थानमा फेस मास्क लगाउनुपर्ने छैन् ।

कोरोना भएपछि आइसोलेसनमा बस्नुपर्ने नियम भने मार्च २४ सम्म लागु हुनेछ। बेलायतमा पछिल्लो समय गत डिसेम्बरमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएपछि यी स्वास्थ्य मापदण्डहरू लागू भएका थिए।

यसअघि बेलायतमा संक्रमण र अस्पताल भर्नाका केसहरु पछिल्लो समय उल्लेख्य रुपमा घटेका तथ्यांकहरु सार्वजनिक भएका छन् । सरकारी तथ्यांकअनुसार पछिल्लो एक साताको अवधिमा संक्रमणका नयाँ केसमा झन्डै ३९ प्रतिशतले कमी आएको छ ।तर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको यो घोषणा निकै हतारमा पो भयो कि भन्ने पनि चर्चा हुन थालेका छन्।