लन्डन । सदाको वर्षजस्तै बेलायतका मगरहरूले पितृको स्मरण गरी माघे संक्रान्ति पर्व मनाएका छन् । मगर संघ यूके यूएचएसबी द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पितृ र पुर्खाको सम्झनास्वरुप मगर परम्परा अनुसार सामूहिक रुपमा पितृ पूजा गरी माघे संक्रान्ति पर्व मनाइएको हो ।
फार्नब्रोस्थित सामुयल कोडी स्पोर्ट्स कलेज हलमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा मगरहरुको मौलिक परम्परा, संस्कृति, भाषा, र भेषभूषा प्रदर्शनी गरिएको थियो ।

विदेशी भूमिमा रहेर पनि आफ्नो धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिंदै पर्वहरुको प्रवर्धन गर्ने उद्देश्यले मगर संघ यूकेले हरेक वर्ष माघे संक्रान्ति मनाउंदै आएको छ । तर, गत वर्ष भने कोरोना महामारीका कारण कार्यक्रम स्थगित गरिएको थियो । यसपटक हाँस्य कलाकार खड्गबहादुर पुनलाई नेपालबाट झिकाउने तयारी गरिएको भए पनि सम्भव भएन ।
मगर संघ यूकेका अध्यक्ष (शाखाका संस्थापक अध्यक्ष) सुनिल राना, शाखा अध्यक्ष हेमा राना र मगर संघ यूकेका पूर्व अध्यक्ष कुलबहादुर थापाले पानसमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा दिवंगत सदस्यहरुप्रति स्मरण गर्दै दुई मिनेट मौन धारण गरिएको थियो ।सस्थाका सल्लाहाकार ओमप्रसाद थापा काउचा मगरले पूजारीको संयोजन गरेका थिए भने सचिव वीर बलाल,टोप पल्ली, गीता पाइजा र जेसीमा पुनले यो वर्षको अन्तिम सोरठी नृत्य प्रस्तुत गरेका थिए ।
सोहि दिन पौराणिक पीतृ पूजापछि दिदीबहिनीले बनाएको मिष्ठान्न परिकार खिचडी, सेल रोटी, फिनी, रोटी बारा (बटुक) खीर, हलुवा, तरुल सखरखण्ड लगायतका खानेकुरा प्रसादको रुपमा वितरण गरिएको थियो ।
सांस्कृतिक कार्यक्रममा दिदीबहिनीले धुमधामकासाथ कौडा नृत्य गरेका थिए भने किशोरकिशोरीको सलैजो नाचले सबैलाई आकर्षित गरेको थियो । कलाकारहरु शीला थापा, रेशा राना, वर्षा थापा, गीता पाइजा, सजिना पुन, रेजीना पुन, बिपिना पुन, जेसिमा पुन, प्रकाश गर्बुजा, सुमन श्रीस, अमित बुरा, प्रिया पुन, आरती थापा, रस्मिता थापा, रिबु थापा, वीर बलाल, टोप पल्ली, ओम थापा लगायतले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
सांस्कृतिक कार्यक्रमपछि ’द प्यालेस’ मा मिठा परिकारसहितको भोजन व्यवस्था गरिएको थियो । कार्यक्रममा ‘राफल ड्र’ को पनि व्यवस्था गरिएको थियो, जसमा छवी माया पुन र गोमा रानाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रथम पुरस्कार सुनको जन्तर (गोर्खा सर्भिसेस्का डाइरेक्टर सुमन पुनबाट प्रायोजित) दोस्रो पुरस्कार मगर ड्रेस (शाखाका अध्यक्ष हेमा रानाबाट ), तेस्रो पुरस्कार सारी (शाखाका उपाध्यक्ष महिला अध्यक्ष भिमा ढेगा), चौथो पुरस्कार (सल्लाहकार वीर बहादुर थापा) द्वारा प्रायोजन गरिएको थियो ।






