लण्डन । तमुधिं लण्डन इकाईको आयोजनामा हरेक बर्ष सञ्चालन हुने ल्होसार कार्यक्रम तथा चौधौं वर्षिकोत्सव यस बर्ष भने नहुने भएको छ ।
यस बर्ष कोरोना भाइरसका कारण बृहत् भेला, सभा, सम्मेलन, समारोह जस्ता कार्यक्रम नगर्ने निर्णय गरेको तमुधिं लण्डन इकाई अध्यक्ष बिष्णु गुरुङले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।
बिहिवार गरुङको अध्यक्षतमा वसेको पदाधिकारीको आपातकालीन भर्चुअल छलफल तथा बैठकले नौं जनवरी २०२२ को लागि तर्जुमा गरिएको “तो”ल्होछार अर्थात ल्होसार कार्यक्रम तथा लण्डन इकाईको चौधौं वार्षिकउत्सव कार्यक्रम रद्द गरिने निर्णय गरेको हो ।

वेलायतमा यतिवेला कोरोना भाइरस संक्रमितको बढ्दो चापको कारण समुदायको स्वास्थ्य सुरक्षित राख्नेगरी सो निर्णय लिइएको ल्होसार कार्यक्रम संयोजक तथा उपाध्यक्ष ललतिमान गुरुङले बताए । संस्थाले ल्होसारको उपलक्ष्यमा हरेक बर्ष धुमधामका साथ कार्यक्रम गर्दै आएको थियो । इकाईका पूर्वअध्यक्ष तथा सल्लाहकार डेविड गुरुङले ल्होसार निश्चित समुदायको मात्र नभएर सबै नेपालीहरुको पर्व रहेको भन्दै यस बर्ष महामारीको कारण महोत्सब गर्न नसकिएपनि आगामी बर्ष धूमधामले कार्यक्रम गर्ने लण्डन नेपाल न्यूजलाई बताए ।
ल्होछार महोत्सवका अबसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामूहिक रुपमा विविध कार्यक्रम गरी मनाउने चलन छ । पछिल्लो समय बेलायतमा कोभिडको नयाँ लहर देखा परेको कारण सरकारले पनि भिडभाडका कार्यक्रम नगर्न भनेको छ । कम संक्रामक मानिएपनि कोभिडको ओमिक्रोन भेरियन्ट तिव्र गतिमा फैलदा बेलायतमा समस्या भइरहेको छ ।






