विदेशमा रहेका गुल्मेलीबाट मात्रै ५० लाख बढीको राहत

भरत पाण्डेय
गुल्मी ६ जेठ । रोजगारीका लागि विभीन्न मुलुकमा पुगेका गुल्मेलीहरुले मात्रै आफ्नो जिल्लामा समस्यामा परेका भुकम्पपिडीतको लागि ५० लाख बढी रुपैयाँ राहत स्वरुप उपलब्ध गराएका छन् । जापान, अमेरीका, बेलायत, हंकङ्ग, कोरीया लगायतका मुलुकमा कामका लागि गएका नेपालीहरुले उक्त रकम उपलब्ध गराएका हुन् ।
जापानमा रहेका गुल्मेलीहरुले ३५ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराएका छन् । जापानमा रोजगारीमा रहेका गुल्मेलीहरुबाट आफ्नो गाउँ ठाउँका भूकम्पपिडीतका लागि उठाएको रकममध्ये १६ लाख जिल्ला स्तरीय दैवि प्रकोप नगद व्यवस्थापन उसमिलिाई र १९ लाख आफूहरुका ४ वटा गाविसलाई उपलब्ध गराएको गुल्मेली समाज जापानका सल्लाहकार तथा राहत संकलन समिति संयोजक शालिकराम भण्डारीले बताउनुभयो । वामी, अर्लाङ्गकोट, आँपचौर र कुर्घा गाविसका अति विपन्न भुकम्प प्रभावितहरुका लागि १९ लाखबाट घर निर्माणमा सहयोग गरीने उहाँले बताउनुभयो ।
त्यस्तै अमेरीकामा रहेकाहरुको संस्था गाम मुभमेण्टले ५ लाख रुपैयाँ जिल्लामा भुकम्प प्रभावितहरुका लागि नमुनायोग्य काम गर्नका लागि भन्दै नगद व्यवस्थापन उसमिलिाई हस्तान्तरण गरेको छ ।
गुल्मेली सम्पर्क समाज हंङ्गकंग ले पनि भुकम्प पिडीतका लागि ५ लाख बराबरको राहत उपलब्ध गराएको छ । भुकम्पबाट गुल्मीको अति प्रभावित गाविसहरु फोक्सिङ्ग, खड्गकोटका अति विपन्न परीवारका लागि समाजले ८१ बण्डल टिन किनेर वितरण गरेको जनाएको छ ।
गुल्मी जिल्ला समाज यूकेले गुल्मीमा मात्रै २ लाख बराबरको सहयोग गरेको छ । भुकम्प गएको भोलिपल्टै समाजका प्रतिनिधी फडिन्द्र भट्टराई गुल्मी आएर प्रभावित गाविसका जनतालाई १ लाख बराबरको राहत सामग्री तथा खाद्यान्न उपलब्ध गराएका थिए ।

त्यसैगरी भुकम्प प्रभावित अपाङ्गता भएकाहरुका लागि सेल्टर बनाउनका लागि आशा अपाङ्ग केन्द्रलाई १ लाख नगद उपलब्ध गराएको समाजले जनाएको छ ।
दक्षिण कोरीयामा रहेकाहरुको संस्था गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले भुकम्प पिडितका लागि १ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको छ । पिडीतमध्ये मध्ये अति विपन्न ५ घर परिवार छनौट गरी प्रति परीवार ३ वण्डलका दरले जस्ता पाता वितरण गरेको हो । तत्कालका लागि ५ परीवारलाई जस्ता पाता उपलब्ध गराईएको र अरु थप विपन्न परिवारका भुकम्प पिडितहरु छनौट गरी करिव ३ लाख मुल्य वरावरको जस्ता पाता वितरण गर्ने कार्यक्रम रहेको गुल्मी सम्पर्क समिति दक्षिण कोरियाका पुर्व उपाध्यक्ष केशव भुसालले जानकारी दिनुभयो ।
यस्तै गुल्मीकेयर विश्व सञ्जाल नामक संस्थाले विभीन्न देशहरुमा रोजगारीमा रहेकाहरुबाट रकम संकलन गरी पिडीतलाई राहत सामग्री उपलब्ध गराउने तैयारी गरेको संस्थाका संयोजक मान बहादुर कुँवरले बताउनुभयो ।