राहतका लागि भनेर बंगलादेश सरकारले पठाएको राहतको करीब १० हजार मेट्रिक टन चामलमध्ये अधिकांश झापाका गोदामहरुमा थन्किएका हुन् । भूकम्प प्रभावित सर्वसाधारणका लागि भनेर पठाइएको चामल अहिलेसम्म गोदाममा थन्किएकोमा सर्वसाधारणले आक्रोश समेत पोखेका छन् ।
काँकरभिट्टा हुँदै बंगलादेशबाट तीन हजार मेट्रिक चामल नेपाल भित्रिएको थियो।
त्यसपछि क्रमशः मंगलबारसम्म बंगलादेशले राहत स्वरुप उपलब्ध गराउने भनेको दस हजार मेट्रिक टन चामल सबै आइसकेको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए ।
विर्तामोडस्थित नेपाल खाद्य संस्थानको गोदामका कोठा कुनै पनि खाली छैन ।
सबै कोठा बंगलादेशले नेपालका भूकम्प पीडित सर्वसाधारणका लागि भनेर उपलब्ध गराएको चामलका बोराले भरिएका छन्। विर्तामोडको गोदाममा ५२ हजार ७ सय ६१ क्विन्टल चामल भन्डारण गरिएको छ भने यहाँ नआँटेका चामलका बोरा चन्द्रगढीको गोदाममा भन्डारण गरेर राखिएको छ । राहतको चामल आएको लामो समय भए पनि अहिलेसम्म १३ हजार १ सय १ क्विन्टल चामल मात्र भूकम्प प्रभावित क्षेत्रमा पठाइएको नेपाल खाद्य संस्थान विर्तामोड गोदामका इन्चार्ज यज्ञप्रताप अधिकारीले बताए।
भन्डारण गरेको लामो समय वितिसक्दा पनि सरकारले प्राप्त गरेको राहत सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पुर्याउन नसक्नु सरकारको लाचारीपन भएको भन्दै सर्वसाधारणले आक्रोश पोखेका छन् । विर्तामोडका जीवन नेउपानेले सरकारकै कारण भूकम्प पीडित जनता भोकै मर्ने अवस्था आउने बताउँछन् । विर्तामोडकै मन्जिता भण्डारीले भूकम्प पीडित जनतासमक्ष अहिलेसम्म चामल नपुग्नु लाजमर्दौ भएको बताइन् । उनले भनिन्, ‘यस्तै हो भने सरकारको के विश्वास गर्नु ?’







