सिड्नी । अष्ट्रेलियामा पहिलो पटक एभरेष्ट बुचरीको आयोजनामा स्वरसम्राट नारायणगोपलको स्मृति दिवस मनाइएको छ ।
विदेशमा रहेका नेपालीहरुमाझ नारायणगोपालले नेपाली गीत संगीत क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै भव्य रुपमा उनको स्मृति दिवस मनाइएको हो ।
कार्यक्रमलाई सहयोग गरेको भीएफएमका संस्थापक अध्यक्ष महेश बाबु (म्याक्स) प्रसाईँले उक्त कार्यक्रममा नारायणगोपालका संगीतलाई मन पराउने ठूलो संख्यामा दर्शकहरु भेला भएको जानकारी दिए ।
कार्यक्रममा सिड्नीका चर्चित नेपाली गायक रमन रेग्मी, नरेश रेग्मी, म्याक्स बाबु लगायतले नारायण गोपालले गाएका तीसवटा भन्दा धेरै गीतहरु गाएर दर्शकहरुलाई मनोरन्जन मात्र नभएर स्वरसम्राट नारायण गोपाललाई सम्मान समेत प्रदान गरे ।
विदेशमा रहेर पनि नेपाली संगीतहरुमा नेपाली युवाहरुको ठूलो प्रभाव रहेको कुरा कार्यक्रमले पुष्टि गरेको उनले बताए ।
उक्त अवसरमा नेपाली सामाजिक अभियन्ताहरु सुजीत सिंह, तीर्थराज कार्की लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो ।
कार्यक्रम पूर्ण रुपमा नारायणगोपाल लाई समर्पण गरिएको थियो, रेष्टुरेन्ट नै नारायणगोपाल मय भएको थियो । हरेक टेबलहरुमा नारायणगोपालका बारेमा लेखिएका पम्प्लेटहरु राखिएका थिए ।

ठूलो हलमा कार्यक्रम गर्न खोजिएपनि समयको अभावको कारण सानै हलमा कार्यक्रम गरिएको उनले बताए ।
यो कार्यक्रमले स्वदेश मात्र नभएर विदेशमा समेत रहेका नेपालीहरु नारायण गोपालको योगदानको उच्च मूल्यांकन गरिदो रहेछ भन्ने पुष्टि भएको आयोजक संस्थाका संस्थापक म्याक्स बाबुले बताए ।
उक्त कार्यक्रमलाई टेग्रो, अस्पाली, भिएफएम, समर्पण नेपाल, स्टडी अफ ग्लोबल, लण्डन नेपाल न्यूज, लुक्ला टिभी, विश्वपाटी, द नेपाली टाइम्सलगायतले सहयोग गरेका थिए ।
गायक रमण रेग्मीले नारायण गोपालका गीतहरु गाउँदा दर्शकहरुले ताली बर्साएका थिए ।







