सिड्नीको काउन्सिलरमा पहिलो पटक नेपाली विजयीः भद्रा वाइबाले रचिन् इतिहास

सिड्नी । शनिवार सम्पन्न भएको न्यू साउथ वेल्स राज्यको स्थानीय चुनावमा पहिलो पटक नेपाली महिला विजयी भएकी छन् ।

सिड्नीको ब्याङ्सटाउन क्यान्टबरी सिटी काउन्सिलको काउन्सिलर पदमा निर्वाचित हुँदै नेपाली मूलकी भद्रा वाइबाले नयाँ रेकर्ड बनाउन सफल भएकी हुन् ।लेवर पार्टीबाट उम्मेद्वार बनेकी उनले मतगणना सकिनपूर्व नै अभूतपूर्व भोटसहित विजयी भएकी हुन् ।

नेपालको सिन्धुली घर भएकी वाइबाले प्रतिपक्ष दलको पकड रहेको इलाकामा चुनाव जितेर नेपालीको यहाँको राजनीतिमा रहेको पहुँच पुष्टि गरेकी हुन् ।उनले बैंकसटाउन काउन्सिलको रोजल्यान्ड वडामा टिकट पाएकी थिइन्।तर, निर्वाचन आयोगले सोमबार मात्रै यसको औपचारिक घोषणा गर्ने बताइएको छ ।

पेशाले रजिष्टर्ड नर्स रहेकी उनले नेपालको वीर अस्पताल, प्रसुती गृहमा झण्डै १८ वर्ष सेवा गरेकी थिइन् । उनी सन् २००८ मा अष्ट्रेलिया आएसँगै आफ्नो करियर र राजनीतिलाई सँगसँगै लगेकी थिइन् ।वाइबाका श्रीमान गणेश तामाङले समुदायको निम्ती निरन्तर रुपमा काम गर्दै गएपछि एक दिन पालो आउँछ भन्ने कुरा आज पुष्टि भएको बताए । उनले यस अभियानमा साथ दिने सबै मतदाता तथा शुभचिन्तकहरुलाई धन्यवाद दिदै घोषणापत्रानुसार काम गर्न आफूले नियमित रुपमा प्रेरित गर्ने समेत बताए भद्राले विजयी भएको प्रमाणपत्र सोमबार पाउने निर्वाचन कार्यालयले जनाएको छ ।

शनिवार विहान ६ बजेबाट शुरू भएको मतदान बेलुकी पाँच बजे सकिएको थियो ।न्यू साउथ वेल्समा ९ जना नेपालीहरुले प्रतिस्पर्धा गरेका थिए ।यसरी प्रतिस्पर्धा गर्नेहरुमा अस्मिता खरेल क्याम्बेलटाउन, महेश पन्त ब्ल्याकटाउन, विनोद पौडेल क्याम्बेलटाउन, दिपेश चिलुवाल लिभरपूल, जिप्सना पौडेल क्याम्बेलटाउन, एलेक्स कार्की, द हिल्स, अन्जना कार्की बस्नेत नर्थ सिड्नी, सज्जन कार्की क्याम्बेलटाउनमा चुनाव लडेका थिए ।