बेलायत आउने नेपाली नर्सलाई ‘फ्रि भिसा फ्रि टिकट’, पहिलो चरणमा ३ सय जना आउने

लण्डन । बेलायत सरकारले नेपालबाट कम्तीमा १० हजार नर्सहरु निशुल्क रुपमा ल्याउने भएको छ ।

नेपाल सरकारले बेलायत सरकारसँग ‘फ्रि भिसा फ्रि टिकट’ मा नर्सहरू पठाउने तयारी अनुरुप प्रक्रिया अघि बढाएको छ । यद्यपि नर्सहरुले विभिन्न परिक्षाहरु भने पास गर्नुपर्नेछ । अँग्रेजी भाषा परिक्षा जस्तै आई.ए.एल.टी.एसमा कम्तीमा पनि सात अंक ल्याउनुपर्नेछ । नेपाल सरकारले भने न्यूनतम ६.५ स्कोरलाई मान्यता दिन प्रयास गरिरहेको छ ।

बेलायत आउन भर्ना प्रक्रियाका लागि कुनै पनि शुल्क तिर्नुपर्दैन। बेलायत जानेले भाषा परीक्षण शुल्कसमेत तिर्नु नपर्ने मन्त्रालय स्रोतले जनाएको छ । क्षमता भएकाहरुले एक रुपैयाँ समेत नतिरी बेलायत आउन पाउने भएका छन् । अनौपचारिक रुपमा बुझ्दा तलव कम्तीमा पाँच लाखरुपैया मासिक हुने सक्ने बताइएको छ। यद्यपि सम्झौता भएपछि मात्रै यकिन हुनेछ ।

बेलायत सरकारले एक लाख विदेशी नर्स लैजाने तयारी गरेकाले त्यसमा नेपालबाट कति लैजान्छ भन्ने यकिन छैन। तर कम्तीमा १० हजार नर्स पठाउन सकिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

पहिलो चरणको भर्ना प्रक्रिया पारदर्शी भयो भने बेलायतले चरणबद्ध रूपमा माग बढाउने विश्वास लिइएको छ। नेपाल सरकारले बेलायतसँग श्रम सम्झौताको निम्ती पहल गरेको छ । त्यसपछि बल्ल नर्सहरुका हकहीतका विषयमा सम्झौता हुनेछन् ।

यसका लागि नेपाल सरकारको उच्चस्तरीय समिति गठन भइसकेको छ। श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, चिकित्सा शिक्षा आयोग, वैदेशिक रोजगार विभाग लगायत निकायका उच्च अधिकारी सम्मिलित समिति गठन भएको मन्त्रालयले जानकारी दिएको छ।

यो समिति र बेलायत सरकारको समितिबीच छलफल तथा सहमतिपछि श्रम सम्झौताको प्रक्रिया अगाडि बढ्नेछ।सम्झौता प्रक्रियापछि नेपाली श्रमिक भर्ना प्रक्रिया अगाडि बढाइने छ।