बेलायतमा राजदूतको रुपमा आचार्यको आगमन करिब पक्का, कुनै उजुरी परेन

लण्डन । बेलायतका लागि नेपाली राजदूतको रुपमा ज्ञानचन्द्र आचार्यआउने पक्का जस्तै भएको छ ।

संघीय संसद्को संसदीय सुनुवाइ समितिले आचार्यसहित प्रस्तावित तीन राजदूतविरुद्ध व्यक्तिगत उजुरी नपरेको हो । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले उजुरी आह्वान गरे पनि नपरेको हो ।

दुई हप्ताअघि १६ कात्तिकमा भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको समितिले संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको थियो ।

उनीहरूविरुद्ध उजुरी दिन समितिले दिएको १० दिनको समयमा व्यक्तिगत उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘प्रस्तावित राजदूतहरूविरुद्ध व्यक्तिगत उजुरी परेन । एउटा समावेशी प्रतिनिधित्व भएन भन्दै उजुरी परेको छ’, सभापति कर्णले भने ।

उनका अनुसार अब २ मंसिरपछि उनीहरूको सुनुवाइ हुनेछ । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले तीनजनालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएमा नियुक्ति प्रक्रियाअघि बढ्ने संवैधानिक व्यवस्था छ ।

को हुन् बेलायतका लागि नेपाली राजदूत सिफारिस भएका ज्ञानचन्द्र आचार्य ?

राष्ट्र संघका महासचिव बान की मूनले उनलाई सन् २०१२ अगस्ट १४ मा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव नियुक्त गरेका थिए ।

आचार्य यसअघि संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी प्रतिनिधि भइसकेका थिए । नेपाली विदेश सेवाका एक अनुभवी कूटनीतिज्ञ, उनले विभिन्न वैदेशिक मुद्दाहरूमा काम गरे।

उनी अल्पविकसित देशहरूको समूहको विश्वव्यापी समन्वय ब्यूरोका अध्यक्ष पनि थिए र अल्पविकसित राष्ट्रहरूको चौथो संयुक्त राष्ट्र सम्मेलनको सफल समापन र अनुगमन प्रक्रियामा योगदान पुर्याएका थिए ।

२०१० देखि २०११सम्म उनी शान्ति निर्माण आयोगको लेसन लर्नेडको कार्य समूहको अध्यक्ष पनि भए । उनी भूपरिवेष्ठित विकासशील देशहरूको ब्यूरोको सदस्य र सामाजिक विकास आयोगको अध्यक्ष पनि भए ।

सन् २००३ देखि २००७ सम्म आचार्य जेनेभामा संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठनमा नेपालको प्रतिनिधि थिए। उनी सन् २००७ देखि २००९ सम्म नेपालको विदेश सचिव थिए । यसअघि देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार समेत भएका थिए ।

आचार्यले काठमाडौंको त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे । काठमाडौं जन्मस्थान रहेका उनका श्रीमतिसहित दुई सन्तान छन् । (विकिपिडयाको सहयोगमा)