ग्लास्गो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
बेलायतको स्कटल्याण्डमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) साइडलाइन वार्तामा देउवा र मोदीवीच कुराकानी भएको हो ।
सो भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए ।
देउवा र मोदीबीच सोमबार बेलुका पनि विश्व नेताहरुको सम्मेलनको दौरानमा अनौपचारिक भेटवार्ता भएको थियो । सो क्रममा आफूहरुबीच हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्न र दिगो विकासमा सहकार्य गर्नेबारे छलफल भएको देउवाले जनाएका छन् ।

देउवा र मोदीले मिलेर जलवायु संकटविरुद्ध लड्ने प्रतिबद्धता जनाएको जनाइएको छ । मोदीले पनि ट्वीटरमार्फत दिगो विकासको क्षेत्रमा मिलेर कार्य गर्ने बताएका छन् । नेपाली समकक्षीले ग्लास्गो सम्मेलनमा हिमालमा जलवायु संकटलाई महत्वका साथ उठान गरेको मोदीले जनाएका छन् ।
सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो । आजै प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्नेछन् । यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नेछन् ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार राति संयुक्त अधिराज्य आएका हुन् । अक्टोबर ३१ देखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।
नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा। प्रेमनारायण कँडेल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा। दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना छन् ।








