लण्डनमा प्रधानमन्त्री देउवा र बेलायतका सांसदहरुबीच भेटवार्ता

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ ।

यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताए।

द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिएका थिए।

उनीहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन्।

प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोको सराहना गरेको सचिव पौड्यालले बताए।

यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा बेलायत पुगेर देउवाले भेटवार्ता गरेका हुन्।

भेटमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव पौड्याल, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, यहाँस्थित नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायत थिए।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार बेलायतमै रहनेछ। टोलीले विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।

यस्तै देउवाले एनआरएनएसँग पनि भेटेका छन् । नेपालमा लगानी ल्याउन उनले अनुरोध गरेका छन् ।

नेपाल–बेलायत समाजका पदाधिकारीको भेट

यस्तै प्रधानमन्त्री देउवासँग नेपाल–बेलायत समाजका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् ।

यहाँस्थित नेपाली राजदूतावासमा आज भएको भेटमा उनीरूले समाजले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र त्यसलाई अझ प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरे ।

समाजका अध्यक्ष एन्ड्रयु स्पार्क नेतृत्वको टोलीले नयाँ पुस्ताका बेलायतीलाई नेपाल भ्रमणमा अभिप्रेरित गराउन र नेपालप्रति सद्भाव बढाउन केही नयाँ ढङ्गले काम गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले बताए ।

प्रधानमन्त्री देउवाले समाजका गतिविधिबारे जानकारी लिँदै नेपालको गौरव र गरिमा बढाउन समाजलाई सक्रियातापूर्वक लाग्न आग्रह गरे ।