गुल्मी, १ जेठ । जिल्लामा नगद र राहत सामग्री गरी भूकम्पपीडितलाई झन्डै करोडबराबरको राहत वितरण गरिएको छ । भूकम्पको भोलिपल्टै १३ वैशाखमा पाँच हजार रुपैयाँ नगदसहित जिल्लामा राहत वितरण सुरु गरिएको थियो । हालसम्ममा ६५ लाख नगद र बाँकी राहत सामग्री करोडबराबरको वितरण गरीएको प्रजिअ चन्द्रप्रसाद गैरेले बताए । १३ वैशाखबाटै गुल्मी उद्योग वाणिज्य संघलगायत व्यापारीसँग सापटी मागेर पाँच हजारका दरले नगद र राहत सामग्री वितरण गरिएको गैरेले बताए ।
‘सरकारले १५ वैशाखमा निर्णय गरे पनि हामीले पहिल्यैदेखि वितरण गरिसकेका थियौँ,’ जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्षसमेत रहेका गैरेले भने, ‘अहिलेसम्म ६५ लाख नगद पठाइसक्यौँ ।’ जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका विभिन्न गाविसमा घर भत्केर बस्न नसक्ने भएकालाई प्रतिपरिवार पाँच हजार नगद, त्रिपाल, खाद्यान्न वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका अध्यक्ष अनुपकुमार श्रेष्ठले करिब १५ लाख रुपैयाँबराबरको खाद्यान्न र १० लाखबराबरको त्रिपाल वितरण गरिएको बताए ।
अन्य गैरसरकारी संस्थाले पनि राहत वितरणको काम गरिरहेका छन् । भूकम्पका कारण घरबारविहीन बनेकालाई सकेसम्म चाँडो खाने, बस्ने व्यवस्था गर्न तदारुकताका साथ लागिपरेको पूर्वजिविस सभापति तथा विपत् व्यवस्थापन समिति सदस्य भरतबहादुर चन्दले बताए । जिल्लामा अहिलेसम्म १६ सय ९९ घर पूर्ण रूपमा क्षति भएको तथ्यांक आएको छ ।
भूकम्पका कारण गुल्मीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । १२ वैशाखको भूकम्पले अताल्लिएर बेहोस भएकी नेटा–४ थामकी १६ वर्षीया प्रमिला केसीको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । मंगलबारको पराकम्पनले पूर्तिघाटका १० वर्षीय ऋतिक बुढा र खड्गकोट–४ की ३२ वर्षीया शकुन्तला ढकालको हात भाँचिएको प्रहरीले जनाएको छ ।
–







