बेलायती प्रधानमन्त्रीका विशेष दूतले किन भेटे नेपालको कर्णाली प्रदेशका मुख्यमन्त्री ?

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका विशेष दूत र नेपालको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच भेटवार्ता भएको छ। सोमबार दिउँसो मुख्यमन्त्री शाही र बेलायती प्रधानमन्त्रीका विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको हो ।

भेटमा फरिन कमवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय युकेका दक्षिण एसिया बालिका शिक्षा सल्लाहकार ईयान एट्फिल्ड, बेलायती दूतावासका निर्देशक नथानल बिभन, कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिम प्रदेश प्रमुख पदम विश्वकर्मा पनि सहभागी थिए।

नेपालको बालिका शिक्षा, महिला सशक्तीकरणको अवस्था र कर्णाली प्रदेशको समग्र विकासबारे छलफल गर्न बेलायतबाट प्रधानमन्त्रीका विशेष दूत नेपाल गएको र ती विषयमा नै छलफल भएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ।