भ्रष्टाचार काण्डमा मुछिएपछि न्यू साउथ वेल्सकी प्रिमियरले दिइन् राजीनामा

NSW Premier Gladys Berejiklian speaks to the media during a press conference to announce her resignation, in Sydney, Friday, October 1, 2021. (AAP Image/Bianca De Marchi) NO ARCHIVING

सिड्नी । भ्रष्टाचार काण्डमा मुछिएपछि न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडिस बेरेजेक्लियनले पदबाट राजीनामा दिएकी छन् ।

शुक्रवार एक पत्रकार सम्मेलन गर्दै उनले मुख्यमन्त्री मात्र नभएर सांसद पदबाट समेत राजीनामा दिएकी हुन् ।

उनलाई भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग आइसिएसिले सन् २०१२ देखि १८ सम्म वितरण भएको केही सरकारी अनुदानमा गडबडी भएको भन्दै छानविनको दायरमा ल्याएको थियो । जसको कारण अनुसन्धानमा सहज होस् भन्नको निम्ती आफूले दुवै पदबाट राजीनामा दिएको उनले बताइन् ।

आइसिएसिले अर्को महिना प्रिमियरमाथी लागेको आरोपको सार्वजनिक सुनुवाई गर्ने तयारी छ । अर्काे प्रिमियर छनौट र आफ्नो क्षेत्रमा उपचुनाव भएपछि उनको राजीनामा कार्यान्वयनमा आउने छ ।

राजीनामा दिदै उनले भनेकी छन्, ‘न्यू साउथ वेल्स सरकारको एक नेताको रुपमा मैले आफूसहित सहकर्मीहरुबाट उच्चको मापदण्डको अपेक्षा गर्दै ममाथि लागेका आरोपहरुमाथि छानविन भएर निर्णय नआउन्जेलको लागि राजीनामा दिएको घोषणा गर्दछु ।’

उनले राज्यका जनताको भरोस टुट्नेगरी कहिल्यै काम नगरेको समेत स्पष्ट गरेकी छन् ।

‘मैले यस विषयको अनुसन्धान गर्न कति समय लाग्छ भनेर अनुमान गर्न सक्दिन’, उनले भनिन्, ‘त्यसेले मैले दुःखको साथ प्रिमयर पदबाट राजीनामा दिएकी छु, मसँग कुनै विकल्प बाँकी रहेको छैन ।’

यसअघि उनको गोप्य प्रेम सम्बन्ध समेत रहेको भनिएका राज्यको वागावागाका सांसद डेली म्यागोइरमाथी पनि सरकारी अनुदानमा अपचलन गरेको आरोप लागेको छ ।

भ्रष्टाचारको आरोप लागेका राज्यका सांसद र उनीवीच प्रेम सम्बन्ध देखिएपछि ग्ल्याडिस पनि शंकाको घेरामा तानिएकी थिइन् । उनले आफ्नो प्रेम सम्बन्धको बारेमा समेत स्वीकार गरेकी थिइन् । विशेष गरी राज्यमा कोभिड नियन्त्रण गर्न प्रिमियरले खेलेको भूमिकाको प्रशंसा हुँदै आएको छ ।

उनको राजीनामा सँगै न्यू साउथ वेल्समा बढिरहेको कोभिड नियन्त्रणमा एक निर्णायक व्यक्तिको अभाव हुने आंकलन गरिएको छ । अर्काे व्यक्ति नआउन्जेलसम्म कोभिडको अवस्था कस्तो रहन्छ भन्ने आँकलन गर्न सकिने अवस्था नरहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Photo- NSW Premier Gladys Berejiklian announces her resignation. Credit: BIANCA DE MARCHI/AAPIMAGE