लण्डन । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आउने भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको पहिलो विदेश भ्रमणको रुपमा उनी स्कटल्याण्ड आउन लागेका हुन् । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड आउन लागेका हुन् ।
स्रोतका अनुसार सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् । नोभेम्बर १ र २ मा ग्लोबल लिडर समिट हुँदैछ । त्यसमा विश्वभरका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुनेछ । प्रधानमन्त्री देउवा सोही समिटमा सहभागी हुने भएका हुन् ।।
बेलायती कूटनीतिज्ञ एवं कोप २६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले कोपमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका छन्। बिहीबार मुख्य सचिव शंकदार बैरागीसँगको भेटपछि फ्लाहरटीले नेपालको तर्फबाट जलवायु परिवर्तन सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गरेका थिए।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी सम्मेलनमा सहभागी हुने चर्चा चलेको थियो। राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले निम्तो प्राप्त भए पनि निधो नभएको बताए।






