नेपाल बेलायतको यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’अझै हटेन ? कहिले हट्छ त ?

लण्डन । बेलायतको यात्रा प्रतिवन्धको रेड लिस्टमा रहेको नेपाल-बेलायत यात्रा थप जटिल बनेको छ ।

सरकारले विभिन्न आठ वटा मुलुकलाई सेप्टेम्बर २२ बिहान ४ बजेदेखि रातो सूचीबाट हटाउने पनि निर्णय गरेको छ । जसमा बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, टर्की, ओमान र केन्या रहेका छन् । दक्षिण एसियाका चारवटा देश रातो सूचीबाट हट्दा पनि नेपाल भने अझै रातो सूचीमा रहेको छ । भारत यसअघि नै रातो सूचीबाट हटिसकेको छ भने अब दक्षिण एसियाली मुलुकहरुमा नेपाल र अफगानिस्तान मात्र रातो सूचीमा छन् ।

रातो सूचीमा परेका मुलुकहरुबाट बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएकाले मात्र बेलायत आउन पाउँछन् । उनीहरुले बेलायतमा आएपछि १० दिन होटल क्वारेन्टाइनमा बस्न पर्ने हुन्छ । होटेल क्वारेन्टिनका लागि लाग्ने  खर्च  यात्रु आफैंले व्यहोर्नु पर्नेछ ।

नेपालीहरुका महान चाडपर्वहरु नजिकिंदै गर्दा नेपाल रेड लिस्टमा नै रहंदा सामाजिक, आर्थिक र व्यावसायिक रुपमा समेत ठूलो असर पुगेको छ । छिमेकी मुलुक भारतलाई रेड लिस्टबाट हटाए पनि ‘रेड लिस्ट’ मा परेको नेपाल अझै यथावत नै छ।

तर, भारतलाई भने रेडबाट हटाएर एम्बर लिस्टमा राखिएको छ, जसका कारण भारतबाट बेलायत आउने यात्रुहरु होटल क्वारेन्टिन र महँगो खर्च तिर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् ।

बेलायत सरकारद्वारा यात्रा प्रतिवन्ध सूचीमाथि पुनरावलोकन गरिंदैछ भने आगामी अक्टुबर १ तारिखबाट अन्तरराष्ट्रिय पर्यटकको लागि थप सहज बनाउने सरकारको तयारी छ ।

नेपाललाई रेड लिस्टबाट हटाउन नेपाली दूतावास लन्डन लगायत स्थानीय नेपाली संघसंस्थाले पनि पहल गर्दै आएका छन्।