शिब भण्डारी
लण्डन । १३ दिनदेखि भोक हड्तालमा रहेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समर्थनमा बेलायतको लण्डनस्थित संसद भवन अगाडी विशाल प्रर्दशन भएको छ ।

भोक हड्तालमा रहेका ज्ञानराज राई, धन गुरुङ र पुष्पा घलेको समर्थनमा ऐक्यवद्धता जनाउन र सरकारको दबाब बढाउन भुपु गोर्खालीहरुले प्रदर्शन गरेका हुन् । समानताको माग राख्दै आएका भूतपुर्व गोर्खा सैनिकहरुले बुधवार बेलायतको संसदहरुको ध्यानकर्षण र दवाव दिने उद्देश्यले संसद भवन अगाडी प्रर्दशन गरेको हो ।

संसद सुचारु हुने समयमा सबै सांसदहरुको जानकारी र ध्यानाकर्षण गराउन प्रर्दशन गरिएको थियो । गोर्खा सत्याग्रह संघर्ष संयुक्त समितिको आयोजनामा गोर्खाहरुले ब्रिटिश आर्मी सरह नै गोर्खा ब्रिटिश आर्मीले पनि तलब, पेन्सन र सेवासुविधा पाउनुपर्ने माग राख्दै विरोधको कार्यक्रम गर्दै आएको छ ।
प्रदर्शनमा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले गोर्खाली सैनिक विभेदको शिकार भएको बताए । संयोजक राईले यो अपमान र पीडा सबै नेपालीहरुको भएकोले सरकार, सदन र सडकमा यी विषयहरु उठाइदिन माग गरे । राईले आफ्ना मागहरुमा चासो दिएर सम्बोधन नगरे सामुहिक आमरण अनसन बस्ने समेत चेतावनी दिए ।बेलायत सरकारले बार्ता कमिटि गठन गरेर नेपाल सरकारसंग वार्ताको प्रक्रिया बढाए आमरण अनशन तोडने संयोजक राईले बताए । तर विश्वस्त हुने खालेको हुनुपर्छ, टार्ने खालको हुनुहुदैन, संयोजक राईले भने ।

यता १३ दिनदेखि अनशनमा बसेका ज्ञानराज राई, धन गुरुङ र पुष्पा घलेको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धन गुरुङलाई स्वास्थ्य अवस्था विग्रदै गएपछि अस्पताल समेत भर्ना भएका थिए । यद्यपि उनको स्वास्थ्यमा केही सुधार आएपछि बुधवारदेखि उनी पुनः अनशनमा बसिरहेका छन्।

यता बेलायत सरकारलाई विभिन्न संघसंस्थाहरुले गोर्खाहरुको माग सम्बोधन गर्न दबाब बढाउँदै गएका छन् । तरपनि सरकारले हालसम्म कुनै पहल कदमी लिएको छैन।






