लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको १० औं राष्ट्रिय साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष पूनम गुरुङको अध्यक्षतामा भर्चुअल रुपमा सम्पन्न भएको उक्त साधारणसभा उद्घाटन र बन्द सत्र गरि करिब १४ घण्टा कार्यक्रम सञ्चालन भएको थियो ।
करिब २ सय पन्जिकृत सदस्य उपस्थित रहेको उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्त, आइसीसीका विभिन्न पदाधिकारी, सल्लाहकार, सदस्य तथा एनआरएनए यूकेका पूर्व अध्यक्षहरु, निर्वाचन समितिका प्रमुख लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत रेग्मीले अधिवेशनको सफलताको शुभकामना दिंदै एनआरएनए र दूतावास सहकार्य गरेर अघि बढ्ने बताए । उनले बेलायतको निजी क्षेत्र र सरकारका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमणका लागि दूतावासले काम गरिरहेको बताए । उनले नेपालको आर्थिक विकासको लागि मुख्य अजेन्डा बनाएर काम गर्न एनआरएनएलगायत बेलायतबासी नेपालीलाई आग्रह गरे ।
संघका अध्यक्ष कुमार पन्तले एनआरएनए यूके संघको अभियानमा दरिलो खम्बाको रुपमा रहेको बताए । उनले महाधिवेशनलार्ई सम्बोधन गर्दै कोरोना महामारीका बेला बेलायतबासी नेपाली समुदायले खेलेको भूमिकाको प्रशंसा गरे ।
संघका उपाध्यक्ष डा. बद्री केसीले एनआरएनए स्थापना बेलायतबाटै भएको हुँदा एनआरएनए यूके विशिष्ठ राष्ट्रिय समिति भएको बताए । उनले एनआरएनए अभियानमा एनआरएनए यूकेको बिशेष भूमिका र महिमा रहेको बताए । उनले संघको अभियानमा संघले खेलेको भूमिका बिशिष्ट भएको बताउँदै एनआरएनए यूकेको प्रशंसा गरे ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले महाधिवेशनको सफलताका लागि शुभकामना दिंदै संघभित्र रुपान्तरण सुरुआत भइसकेको बताए । उनले संघको नेतृत्वमा समेत नयाँ पुस्ता रहेको बेला विशेष कार्यक्रम ल्याएको बताए ।
एनआरएनए आइसीसीका सदस्य भक्त गुरुङले एनआरएनए यूकेले विगत दुई वर्षमा अस्मरणीय काम गरेको बताए । उनले गैरआवासीय नेपाली संघको उद्देश्य प्राप्तिको लागि सक्रिय रहेर काम गरेको बताए ।
आइसीसी सदस्य रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघ यूकेको आगामी कार्यकाललाई सहज रुपमा काम गर्ने वातावरण बनाउन आग्रह गरे । उनले विगतमा भएका कमीकमजोरीहरुलाई आत्मसमीक्षा गरेर अघि बढ्न सुझाव दिए ।
संघअन्तर्गतको गोर्खा कार्यदलका संयोजक चन्द्रबहादुर गुरुङले गैरआवासीय नेपाली संघले भूपूगोर्खाहरुको नागरिकताको निरन्तरताको लागि सक्रिय रुपमा लागेर काम गरिरहेको बताए । उनले भूपू गोर्खाहरुको लागि नागरिकताको ग्यारेन्टी गर्न संघले सरकारलाई पत्राचार गरेको बताए । उनले एनआरएनए यूकेविरुद्ध बेलायती अदालतमा मुद्दा परेपछि संस्था रहने कि नरहेन भन्ने प्रश्न उठेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य दिदैं एनआरएनए यूकेकी अध्यक्ष गुरुङले गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न अथक प्रयास गरिरहेको बताइन् । उनले गैरआवासीय नेपाली संघप्रति जनविश्वास बढ्दै गएको बताइन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्षहरु सूर्य गुरुङ, महेन्द्रराज कंडेल, योगकुमार फगामी, एनआरएनए केन्द्रिय सल्लाहकारहरु कुल आचार्य, विश्वआर्दश पण्डित, युरोप संयोजक नारायण आचार्य, प्रवक्ता डिबी क्षेत्री, सहसंयोजक कृष्ण तिमल्सिना, युवा संयोजक हिमाल गुरुङलगायतले शुभकामना दिएका थिए । कार्यक्रममा पर्वतारोही निर्मल पूर्जालाई विशेष सम्मान गरिएको थियो ।
त्यस्तै बन्द सत्रमा एनआरएनए यूकेका उपस्थित पन्जिकृत सदस्यहरुले संघका गतिविधि, आर्थिक पारदर्शीता लगायत विषयमा ब्यापक छलफल भएको थियो । कार्यक्रममा महासचिव फडिन्द्र भट्टराईले संगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष तेजेन्द्र रोका मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
एनआरएनए यूके, राज्य समन्वय परिषदहरुको हकमा आसन्न निर्वाचनको सम्बन्धित राज्य परिषदका बिभिन्न पदमा उम्मेद्वारी मनोनयन शुल्क बापतको रकम सम्बन्धित राज्य परिषदलाई नै प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।
राज्य परिषद पदका उम्मेदवारहरुको मनोनयन शुल्क राष्ट्रिय समन्वय परिषदमा भुक्तानी भइसकेको खण्डमा सम्बन्धित राज्य परिषदलाई नै प्रदान गरिने छ ।
कार्यसमिति सदस्य ज्ञानेन्द्र आलेद्वारा प्रस्तुत एक उपाध्यक्ष पदमा गोर्खा समुदायको आरक्षण राख्नु पर्ने प्रस्तावित कार्यपत्रमा व्यापक छलफल पश्चात विधान मस्यौदा प्रस्ताव टेबल नभएको परिस्थितिजन्य अवस्थामा यो महाधिवेशनले ऐतिहासिक रुपमा राखिएको उपरोक्त प्रस्तावलाई सकारात्मक रहेको सुझाव सहित आगामी कार्यकालमा विधान समितिले प्राथमिकताका साथ संशोधन प्रस्ताव पेश गर्ने गरी अनुमोदन गरेको छ ।
सन् २०२१ –२३ को आगामी कार्यसमितिले विधान मातहतमा रहेर एक उपाध्यक्षलाई भूपू गोर्खा सम्बन्धि जिम्मेवारी प्रदान गर्न सक्ने छ ।
बन्द सत्रमा संघका उपाध्यक्ष, सचिव लगायत पदाधिकारीहरुले वर्तमान कार्यकालको आफ्नो जिम्मेवारी र विभागीय प्रगतिबारे अपडेट गराएका थिए । इंगल्याण्ड, वेल्स्, स्कटल्याण्ड र आयरल्याण्ड राज्य परिषदका अध्यक्षले राज्य परिषदका गतिविधिबारे अधिवेशनबारे ‘अपडेट’ गराएका थिए ।
महाधिवेशनले आसन्न जुलाई ३१ मा हुन गइरहेको संघको अनलाइन मतदानमा सहभागी हुन संघका सबै पन्जिकृत सदस्यहरुलाई आवहान गरेको छ । साथै महाधिवेशनले निर्वाचन सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न सम्बन्धित सबैलाई अपिल समेत गरेको छ ।
जुलाई ३१ मा एनआरएनए यूकेको नयाँ नेतृत्वको निम्ती चुनाव हुन गइरहेको छ । ४ दर्जन बढी उम्मेद्वारहरुले प्रतिस्पर्धा गर्न लागेको उक्त चुनावमा अनलाइन मतदान हुनेछ । अध्यक्षमा प्रेम गाहा मगर, दीपक श्रेष्ठ र रोजिना राईले उम्मेद्वारी दिएका छन् ।







