लण्डन । गैरआवासीय नेपाली संघ यूकेको आगामी ३१ जुलाई २०२१ मा हुने नयाँ नेतृत्व चयनको निर्वाचनमा समाजसेवी मोहन कार्कीले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
एनआरएनए राज्य समन्वय परिषद् स्कटल्यान्डका पूर्वअध्यक्ष र एनआरएनए यूकेका बर्तमान उपाध्यक्ष रहेका कार्कीले अझै एक कार्यकाल उपाध्यक्ष पदबाटै एनआरएनएको नेतृत्व गर्ने इच्छासहित चुनावी अभियानमा लागेका हुन् ।
एनआरएनए यूके भित्र रहेर संस्थालाई नजिक बाट चिनेका उनले संस्थागत पारदर्शिताका लागि आवाज बुलन्द बनाउंदै विधिविधान अनुरुप संस्थागत सुदृढिकरण एवं जनहितका खातिर आफु लगायत सबै लगातार लागिरहने बताए।
उनले भने, ‘गैरआवासीय नेपाली संघसंग आबद्ध व्यक्तित्वहरु, आफन्त, साथीभाई तथा शुभचिन्तकहरुको सल्लाह, सुझाब र उत्प्रेरणा पछि मैले एनआरएनए युकेमा दोश्रो पटक २०२१–२०२३ कार्यकालको लागि स्कटल्यान्डको प्रतिनिधित्व गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेँ ।’
संस्थाको आर्थिक पारदर्शितालाई मजबुत बनाउने गरी आफू फेरी उपाध्यक्षमा निरन्तरता दिन लागेको उनले बताए । यसका अलावा नेपालीहरूको नागरिकता निरन्तरताको पक्षमा, नेपालमा रहेको सम्पत्ति र लगानीको सुनिश्चितता, गोर्खाहरूको समान अधिकारका अभियानलाई एनआरएनए युकेमार्फत सशक्त बनाउनका लागि आफू चुनाबमा होमिएको उनको भनाइ छ।
एनआरएनएलाई समाबेशी, राज्य समितिहरूलाई अधिकार सम्पन्न बनाउंदै एनआरएनएलाई साँघुरो घेराबाट बाहिर निकालेर आम गैरआवासीय नेपालीहरूको साझा फूलबारीमा विकास हुनु पर्नेमा कार्कीले जोड दिएका छन्।
त्यस्तै धेरै क्षेत्रबाट बिभिन्न तह तप्काका बौद्धिक व्यक्तित्वहरुला संस्थामा आबद्ध गराउन सकेमा संस्थाले राम्रो गति लिन सक्ने भन्दै उनले त्यसको लागि अघि बढ्ने बताए ।
उनले सामाजिक भाबनासंग मन भित्रै देखि ओतप्रोत यस अभियानमा अन्य समकालीन उपाध्यक्षहरुको निस्वार्थ साथ र सहयोगले काम गर्न अझै बढी उर्जा मिलेको भन्दै निरन्तर निश्वार्थ भावनाले अघि बढ्न सकेमा गैर आवासीय नेपाली संघ बेलायतलाई सबैको मन मुटुमा राख्नेगरी सामाजिक साझा घरमा विकास गर्न सकिने बताए।
विभिन्न सामाजिक संघ संस्थामा सक्रिय कार्की सफल ब्यबसायी, प्रपर्टी लगानि कर्ता समेत हुन् भने च्यारिटी तर्फ पनि उनले उत्तिकै कामहरु गरेका छन्। विभिन्न संघ संस्थामा सल्लाहाकारको भुमिकामा रहेका कार्की अहिले व्यवसाय विस्तारको क्रममा फलक्रिकमा बसोबास गर्दै आएका छन् । त्यहाँ कार्कीको अध्यक्षतामा रहेको फोर्थ भ्याली नेप्लिज एसोसियनले स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न गतिविधिहरू गर्दै आएको छ भने स्कटल्यान्डका सरकारी अधिकारीहरू नेपाली भाषालाई हाईयर सेकेन्डरीको पाठयक्रममा समेट्ने बिषयमा सकारात्मक भइरहेको कार्कीले बताएका छन् ।
उनले स्कटल्यान्डका सम्पूर्ण नेपाली समुदायलाई समेट्ने गरेर वाताबरण परिवर्तन न्यूनीकरणका लागि बृहत ‘क्लाइमेट चेन्ज’ प्रोजेक्ट चाँडै सुरु हुने बताएका छन् । कार्कीको समाजसेवाप्रतिको सक्रियतालाइ स्थानीय सरकारी अधिकारीहरू र काउन्सिलले निकै सराहना गर्ने गरेका छन् । उनको सक्रियताको कारण स्कटल्यान्ड नेसनल पार्टीले स्कटल्यान्डको संसदमा सांसद एमएसपी (मेम्बर अफ स्कटिस पार्लियामेन्ट) को उम्मेदवार रूपमा पनि लान कार्कीलाई पहल गरिरहेको बताइएको छ।
उनले ०७२ सालको भूकम्पको समयमा स्कटल्यान्डका विभिन्न संस्थाहरूसँगको सहकार्यमा सहयोग संकलन गर्नुका साथै भूकम्प पीडितहरूको अस्थायी घर निर्माणका लागि ठूलो सहयोगसमेत गरेका थिए । उनले कोरोनाको महामारीका समयमा नेपालका विभिन्न जिल्लामा सहयोग समेत गरेका छन्।
सदा झैँ यसपाली पनि सबैको सहयोगको अपेक्षा गर्दै गैर आवासीय नेपालीहरुका हक हितका लागि आफु निरन्तर लागिरहने बाचा गरेका छन् ।
उनले गरेको प्रतिवद्धता जस्ताको तस्तै:
आदरणीय बेलायतबासी आमा बुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा म मोहन कार्कीको नमस्कार ।
गैर आवासीय नेपाली संघ बेलायतको निर्वाचन नजिकिंदै गर्दा स्कटल्याण्डबाट प्रतिनिधित्व गर्दै गैर आवासीय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु।
हजुरहरु सबैको मायाँ र उत्प्रेरणाले नै गत कार्यकालमा गैर आवासीय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदमा उपाध्यक्षको भूमिका निभाउदै संस्था सुदृढिकरणमा केहि कार्यहरु गर्ने अवसर मिल्यो र अझै पनि संस्थागत पारदर्शिता, लगायत शुद्धिकरणका सबालहरुमा धेरै कार्यहरु गर्न र बेलायती नेपाली समाजमा प्रत्यक्ष सरोकार राख्ने धेरै कार्यहरु गर्न बाँकि छ।
हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? हजुरहरुहरुकै साथ, सहयोग, सुझाव र प्रेरणाले यहाँ सम्म आएँ र केहि गर्ने अवसर पाएँ फेरी एकचोटी हजुरहरुको साथ र सहयोगको अपेक्षा गरेको छु। म स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने भएपनि बेलायत भरिका सम्पूर्ण सदस्यज्युहरुले मलाई भोट दिन सक्नुहुनेछ। मेरो सफलता तपाईको एक भोटले निर्धारण गर्नेछ त्यसैले तपाईले मतदान गरि मलाई सहयोग गरिदिनु हुनेछ भन्नेमा पूर्ण आशावादी रहेको छु।
धन्यवाद नमस्कार ।






