सिड्नी । न्यू साउथ वेल्स राज्यमा लगाइएको लकडाउन एक हप्ता थप गरिएको छ ।
कोरोनाभाइरस महामारी बढ्दै गएपछि अघिल्लो हप्ता लगाइएको लकडाउन थप सात दिन लम्बाउने निर्णय भएको प्रिमियर ग्लाडिस बेरेजिक्लियनले जानकारी दिइन् ।
उनका अनुसार सिड्नीमा थप २७ जनामा कोरोना संक्रमण देखिएको छ । यी सबै डेल्टा भेरियन्ट हुन् । अर्को शुक्रवार मध्यरातसम्म लागू हुने उक्त लकडाउन अन्तर्गत फेयरफिल्ड, क्यान्टरबेरी बैंक्सटाउन, र लिभरपुल क्षेत्रमा मानिसहरुको भिडभाड नगर्न भनिएको छ ।

यी तीन क्षेत्रहरुमा बढी संक्रमण देखिएको कारण कडा प्रतिबन्धहरु लगाइएको छ । मानिसहरुलाई आवतजावत रोक्न भनिएको छ । अत्यावश्यक बाहेक अन्य कामको लागि घरबाहिर निस्कन दिइएको छैन ।
प्रिमियर बेरेजिक्लियनले यो एक हप्तामा डेल्टा भेरियन्टको चेन ब्रेक गर्न सफल हुनेमा विश्वास व्यक्त गरिन् ।
एनएसडब्ल्यूका प्रमुख स्वास्थ्य अधिकारी केरी चेन्टले पुष्टि गरे कि ३७ जना संक्रमितहरु अस्पतालमा रहेका बताए । जसमध्ये सात जना सघन उपचारका लागि रहेका छन् भने, ४५ हजार भन्दा बढीको परीक्षण गरिएको छ ।






