सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको व्यापारिक शहर सिड्नीको कोरोना हटस्पट क्षेत्रहरुमा सरकारले प्रतिबन्धहरु लगाएको छ ।
कोभिड १९ को नयाँ भेरियन्टका संक्रमितहरु देखिन थालेपछि सिड्नीका विभिन्न क्षेत्रमा प्रतिबन्धहरु जारी गरिएको पत्रकार सम्मेलनमार्फत न्यू साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरीजिक्लयनले जानकारी दिएकी छिन् ।
नयाँ प्रतिबन्ध अनुसार सिड्नीका चार बजारहरु सिड्नी सिटी, रेन्डविक, वेभर्ली र वलाहरा काउन्सिलहरुमा एकहप्ताको लागि लकडाउन घोषणा गरिएको छ । यी बजार क्षेत्रमा अत्याबश्यक बाहेक अन्य कामको लागि घरबाहिर निस्कन बन्देज गरिएको छ ।
खाद्यान्न बस्तुहरुको किनमेल, स्वास्थ्य स्याहार, सानो समूहमा व्यायाम र घरमा बसेर गर्न नसकिने अत्यावश्यक कामहरु गर्नको निम्ती मात्र बाहिर निस्कन पाइनेछ ।
हालसम्म सिड्नीमा ७१ जना कोभिड संक्रमितहरु फेला परेका छन् भने शुक्रवार मात्रै २२ जनामा संक्रमण पुष्टि भएको थियो । केही समय अघि सिड्नीमा अनिवार्य मास्क लगाउन निर्देशन दिइएको थियो । त्यसपछि लगाइएका अन्य प्रतिबन्धहरु पनि एक हप्ताको लागि थप गरिएको छ ।
बोन्डाई क्षेत्रमा हालसम्मकै संक्रामक मानिएको भारतबाट उत्पति भएको डेल्टा भेरीयन्टका संक्रमितहरु भेटिएका थिए । यसले प्रकोपको रुपनै लिन सक्ने भएको कारण सरकारले प्रतिबन्धहरु हटाउने निर्णय गरेको हो ।
सिटी अफ सिड्नी, वेभरली, रेन्डविक, क्यानडा बे, इनर वेष्ट, बे साईड तथा वुल्लाहराका स्थानीय क्षेत्रहरूमा बसोबास एवं काम गर्ने मानिसहरूलाई अत्यावश्यक बाहेक सिड्नीको मेट्रो क्षेत्रबाट बाहिर जान निषेध गरिएको छ ।
बेरीजिक्लयनले सरकारले जारी गरेका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै संक्रमणको चेन ब्रेक गर्नको निम्ती संक्रमण हुनसक्ने आशंका गरिएका क्षेत्रहरुका मानिसहरुले परिक्षण गराउन समेत आग्रह गरेकी छिन् ।






