घाइतेलाई दुर्व्यवहार गर्ने स्वास्थ्यकर्मीविरुद्ध मुद्दा

Rape-Incidents

भूकम्पमा परी घाइते भएकी महिलालाई उपचार गर्ने क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वीरगन्जको नेसनल मेडिकल कलेजका रेडियोलोजिस्ट निशान्त यादवलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।

मेडिकल कलेजको एमआरआई वार्डमा कार्यरत रेडियोलोजिस्ट यादवविरुद्ध प्रहरीले शनिबार पीडित महिलाको जाहेरीका आधारमा मुद्दा चलाइको अन्नपूर्ण पोस्टमा खबर छ । पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा यादव जबरजस्ती करणी गर्न खोजेको उल्लेख छ ।

‘पीडित महिलाले आफूलाई यादवले जबरजस्ती करणीको प्रयास गरेको व्यहोरा उल्लेख गरेको जाहेरी दिएकी छिन्,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक बीरबहादुर ओलीले भने, ‘त्यसकै आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।’

आरोपित यादव जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् । सर्लाही घर भएकी महिलाका पति नेपाली सेनाका जवान हुन् ।

यादवले भने आरोप स्वीकारेका छैनन् । ‘एमआरआई गर्दा कपडा हटाउनुपर्ने भएकाले हटाएको मात्र हो, त्यस्तो केही नगरेको’ यादवको भनाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक ओलीले भने ।