काठमाडौँमा थपियो निषेधाज्ञाः अब गाडी चल्ने, पसल पनि खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा ८ गतेबाट निजी सवारी साधन चल्ने दिइने भएको छ । जोर विजोर प्रणाली लागू गरेर निजी सवारी साथै ट्याक्सीहरु चल्ने भएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताए ।

उनका अनुसार अब पसलहरु पनि खोल्न पाइने भएको छ । नयाँ निर्णयानुसार आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ ।

त्यस्तै सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

आज बसेको सिडिओहरुको बैठकले आर्थिक गतिविधि चलायमान हुँने गरि निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो ।

यसै गरी थप गरिएको निषेधाज्ञामा बैंक, बित्तीय क्षेत्र, फेन्सी, भाँडा पसल लगायत भीडभाड् नहुने थप व्यवसाय समय तोकेर चलाउन निर्णय भएको छ ।

सार्वजनिक सवारी साधन भने निषेधाज्ञामा चल्न पाउने छैनन् ।

विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सवै क्षेत्र खुला हुनेछ । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् ।

विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चलन निर्णय भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातीबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

हाल देशका ७० जिल्लामा लकडाउन छ ।