लण्डन । बेलायतमा लगाइएको तेस्रो चरणको लकडाउन थप ४ हप्ता लम्बिएको छ ।
कोरोनाभाइरस महामारीको नयाँ भेरियन्ट तिव्र रुपमा फैलिएको कारण लामो समयदेखि लगाइएको लकडाउन १९ जुलाईसम्म थप्ने निर्णय भएको हो । २१ जुनमा पूर्णरुपमा खुलाइने भनिएको लकडाउन महामारी नियन्त्रणमा नआइसकेको र खोप कार्यक्रम पनि चलिरहेको कारण थप्ने निर्णय भएको हो ।
हालसम्म विवाह जस्ता कार्यहरुमा लगाइएको सीमितता हटाइएको छ तर विवाहस्थलमा भने सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले २ हप्तापछि लकडाउनको पुनरावलोकन हुने बताए । तर दुई हप्ता पछि फेरी लकडाउन थप्नुपर्ने अवस्था नआउनेमा आफू ढुक्क रहेको बताए ।
ड्रनिङ स्ट्रिट प्रेस सम्मेलनमा बोल्दै उनले जुलाई १९ पछि पनि लकडाउन थप्ने या नथप्ने बारे अहिले केही भन्न नसकिने बताए ।
बेलायतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण फेरी बढ्दै गएको पाइएको छ । जसको कारण अस्पतालहरुमा विरामीको संख्या बढेको छ । स्वास्थ्य वैज्ञानिकहरुले संक्रमणको अवस्था फेरी बढ्दै गइरहेको भन्दै यसमा सचेत हुन आग्रह गरेका छन् ।
हाल भारतमा देखिएको डेल्टा नामक नयाँ स्वरुपको कोरोनाभाइरसका विरामीहरु यूकेमा देखिन थालेका छन् । खोपलाई समेत चुनौति दिन सक्ने भनिएको यस भाइरसबाट देशबासीलाई जोगाउने उद्धेश्यसहित लकडाउन थपिएको सरकारले जनाएको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा ७ हजार भन्दा धेरै संक्रमितहरु फेला परेका छन् भने तीन जनाको मृत्यु भएको छ ।






