नेपालमा कोभिडबाट निधन भएकाको सम्झनामा सिड्नीमा दीप प्रज्वलन

सिड्नी । गैरआवासीय नेपाली संघ नारी निकुञ्ज अष्ट्रेलियाले नेपालमा कोभिड १९ महामारीको कारण निधन भएका नेपालीहरुको आत्मशान्तिको कामना गर्दै शनिबार साँझ सिड्नीमा दीप प्रज्वलन गरेको छ ।नेपालमा हालसम्म कोभिड महामारीको कारण ज्यान गुमाएका ६५३१ नेपालीको सम्झनामा नेपालको नक्सा बनाएर दीप प्रज्वलन गरिएको हो । सिड्नीको एशफिल्ड पार्कमा गरिएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल र नेपालीले भोग्नुपरेको यस महामारी नियन्त्रण गर्न अष्ट्रेलियामा रहने नेपालीहरु प्रतिबद्ध रहने समेत बताए ।

कार्यक्रममा न्यूसाउथ वेल्स  महावाणिज्यदूत दिपक खड्का, एनआरएन अभियन्ता ईन्द्रा बन, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डे, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यूसाउथ वेल्स संयोजक देव गुरुङ, एनआरएन अष्ट्रेलिया प्रवक्ता नन्द गुरुङ, कोषाध्यक्ष अनिल पोखरेल, जनसंपर्क समिति अष्ट्रेलिया सस्थापक अध्यक्ष दिनेश जोशी,सामाजिक अभियान्ता प्रतिज्ञा अधिकारी लगायतले बोल्दै परदेशमा आफू भएपनि आफ्नो तनमन नेपालमै रहेको भन्दै नेपालमा पर्ने कुनै पनि विपत्तीविरुद्ध लड्न तयार रहने बताए ।

कार्यक्रममा बोल्दै उनीहरुले दूतावास संलग्नतामा नेपालको कोभिडविरुद्ध लड्न वृहत सहयोग अभियान चलाइएको र छिटै नै नेपालमा स्वास्थ्य सामग्रीहरु पठाइने समेत जानकारी दिएका छन् ।एनआरएनए अष्ट्रेलिया नारी निकुञ्जकी संयोजक सन्ध्या शाहले महामारीमा परी जीवन गुमाउने परिवारसँग भावनात्मक एकता कायम गर्नको निम्ती दीप प्रज्वलन गरेको बताइन् । यसले महामारीले परेको बज्रपातले तड्पिएको परिवारको मनमा केही भएपनि सान्त्वना मिल्ने उनको भनाई छ ।

उक्त अवसरमा पण्डित प्रकाश ढोडारी, पण्डित देवांश कोइरालाले मन्त्रोच्चारणसहित शंख बजाई दिवंगत आत्माको चीर शान्तिको कामना गरेका थिए भने ईमाम मोहम्मद मोउद्दिनले पनि दिवंगतहरुको आत्माको शान्तिको कामना गर्दै प्रार्थना गरे । सिड्नीमा रहेका नेपाली समूदायका सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कोभिडबाट दिवंगत आत्माको चीर शान्ति र बैकुण्ठबासको कामना गरिएको थियो ।

अष्ट्रेलियामा रहेको नेपाली संघसंस्थाहरुले नेपालको महामारी नियन्त्रण गर्न सहयोग जुटाइरहेका छन् । यस्तै अष्ट्रेलिया सरकारले पनि नेपाल सरकारलाई ७० लाख अष्ट्रेलियन डलर बराबरको सहयोग गरेको छ ।