सिड्नी । भरतपुर अस्पताललाई चितवन समाज अष्ट्रेलियाले ६० वटा अक्सिजनसहितको सिलिन्डर उपलब्ध गराएको छ । १० लाख ७५ हजार रुपैयाँ बराबरको उक्त अक्सिजन सिलिण्डर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीलाई ती सिलिण्डर हस्तान्तरण गरिएको हो ।
चितवन मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्थाले अक्सिजनसहितको सिलिन्डर उपलब्ध गराएको हो । ती सिलिन्डर अस्पताललाई तीन चरणमा उपलब्ध गराइएको चितवन समाज अस्ट्रेलियाका अध्यक्ष पूर्णनाथ घिमिरेले जानकारी दिए ।
५० वटा अक्सिजनसहितको सिलिन्डर खरिद गरेर र १० वटा धरौटीमा अस्पताललाई उपलब्ध गराइएको हो । धरौटीमा रहेका १० वटा पनि खरिद गरी अस्पतालकै स्वामित्वमा हस्तान्तरण गरिने अध्यक्ष घिमिरेले बताए ।
अध्यक्ष घिमिरेका अनुसार अस्ट्रेलियामा रहेका चितवनवासीले आर्थिक संकलन गरेर अक्सिजन खरिदका लागि सहयोग गरेका हुन् । चितवन समाजका संरक्षक मध्येका एक बुद्धि डल्लाकोटीले चितवन समाजको स्थापना देखीनै अघिका विपत्तीहरुमा पनि नेपालमा तत्काल आवश्य वस्तुहरु खरिद गरी सहयोग गर्दै आएको वताए , अर्का संरक्षक सत्य प्रकाश कंडेलले चितवन समाज यस्ता विपत्तीहरुमा आवश्यक सहयोग गर्न सधैं तयार रहेको वताए । समाजले संस्थाका संरक्षक केशबप्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्ताैला, सीता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति गठन गरिएको थियो ।
अस्पताललाई अत्यावश्यक पर्ने सिलिन्डर उपलब्ध गराएकोमा प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. तिवारीले अष्ट्रेलियामा बसोबास गर्ने चितवनवासीलाई विशेष धन्यवाद दिए ।






