तक्दीर अधिकारी
सिड्नी । परराष्ट्र मन्त्रालयले ११ देशको राजदूतको नाम संसदीय सुनवाइका लागि सिफारिस गरेको छ । ती ११ देशमध्ये अस्ट्रेलियाका लागि सुम्निमा तुलाधरको नाम प्रस्ताव गरिएको छ । ती सिफारिस नाम संसदीय सुनवाइपछि सम्बन्धित देशमा एग्रिमोका लागि पठाइन्छ । सिफारिस नामको एग्रिमो आएपछि मात्र नियुक्तिको प्रकृया अघि बढ्छ । यसका लागि झन्डै महिना दिन समय लाग्छ ।
यस अघि अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई दुई बर्षे कार्यकाल बाँकी छदै सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा फिर्ता बोलाए पछि सुम्निमा तुलाधरलाई राजदूत नियुक्तिको लागि सिफारस गरेको हो ।
राजदूत दाहालभन्दा अघि लक्की शेर्पा आर्थिक मामिलासम्बन्धी विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो ।
को हुन् सुम्निमा ?
अस्ट्रेलियाको राजदूतका लागि सिफारिस गरिएको नाम हो सुम्निमा तुलाधर । कूटनीतिक क्षेत्रमा खासै नाम नसुकिएकी सुम्निमा मानवअधिकारवादी तथा वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुन् ।
सुम्निमाले बालअधिकारवादी वामपन्थी अधिकारवादी गौरी प्रधानसँग विवाह गरेकी छन् । गौरी प्रधानले सञ्चालन गरेको बालअधिकारवादी गैरसरकारी संस्था सिबिनमा संलग्न भएर काम गरिरहेकी थिइन् । भनिन्छ, सिबिनलाई यहाँसम्म ल्याइपु-याउन सुम्निमाको योगदान महत्वपूर्ण मानिन्छ ।
केही समयअघि मात्र अस्ट्रेलियालगायत विभिन्न देशमा कार्यरत राजदूतहरुलाई सरकारले फिर्ता बोलाएको थियो । कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई ‘अर्को निर्णय नहुन्जेलका लागि कार्यकाल थप गरिएको’ थियो ।
को कसको नाम सिफारिस
परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा परेका छन् । तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि रुसका लागि रुसी भाषाका ज्ञाता तथा अनुवाद साहित्यमा नाम बनाएका जंगबहादुर (जंगब) चौहान प्रस्तावित छन्, जंगब काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत छन् ।
यस्तै, कम्युनिस्ट नेता नारायणप्रसाद संग्रौला म्यान्मार र एमाले पार्टीसम्बद्ध पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिसमा परेका छन् । प्राध्यापक संग्रौला काठमाडौंस्थित सहिद रामनाथ बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा विगतमा पद्मकन्या, महेन्द्ररत्न क्याम्पससँग सम्बद्ध राजनीतिशास्त्रका प्राध्यापक हुन् ।
यस्तै, ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदीको नाम प्रस्तावित छ । नेपाल पाल्पाका पूर्वसांसद हुन् । नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका अध्यक्षसमेत रहिसकेका मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्तावित छन् ।






