सिड्नी । सिड्नीमा एकजना कोरोना संक्रमित फेला परेको छ । करिब ५० वर्ष उमेरका ती पुरुषमा गत मंगलबार कोरोनाको नतिजा पोजेटिभ आएको थियो । पूर्वी सबअर्वमा बसोबास गर्ने ती व्यक्तिमा संक्रमण भएको न्यू साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरोजिक्लिले पुष्टि गरिन् । उनले लामो समयको अन्तरमा समुदायमा कोरोनाको नयाँ संक्रमण देखिएको जानकारी गराइन् ।
व्यक्तिमा संक्रमण पुष्टि भएसँगै स्वास्थ्य मापदण्ड अपनाउन प्रिमियर ग्लाडिसले सर्वसाधारणमा आग्रह गरेकी छन् । सरकारले बिहीबार साँझदेखि सोमबार १२ बजेसम्मका लागि २० जनाभन्दा बढी भेला हुन नपाइने, सार्वजनिक स्थल र यातायातमा मास्क प्रयोग अनिवार्य लगाउन आग्रह गरिएको छ ।
अन्तर्राष्ट्रिय र अन्तर प्रदेश यात्रा नगरेका र होटल क्वारेन्टिन पनि संलग्न नभएका ती पुरुषमा कसरी कोरोना भयो भन्ने बारेमा अहिले न्यू साउथ वेल्स हेल्थले अनुसन्धान भइरहेको छ ।
स्वास्थ्य अधिकारीहरुले अहिले कन्ट्याक टेसिङ गरेर संक्रमणको चक्र पत्ता लगाउन सोधपुछ गरिरहेका छन् । समुदायमा संक्रमणका थप केसहरु हुने भएकाले उक्त क्षेत्रमा परीक्षण तीब्र बनाइएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।






