राजदुत रेग्मीले एनआरएन युकेमा राखे आठ प्रस्ताब,के हुन् ती प्रस्तावहरू ?

लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको छैठौं संघसंस्था प्रतिनिधि सभा (काउन्सिल बैठक)मा आठ प्रस्ताब राखेका छन ।राजदूत  रेग्मीले काउन्सिल बैठकलाई आइतबार भर्चुअल रुपमा उद्घाटनसहित सम्बोधन गर्दै नेपालको पुर्वाधारमा देखिने गरि काम गर्न आठ प्रस्ताव राखेका हुन ।

यस्ता छन् आठ प्रस्ताव

नेपालको पूर्वाधार विकासमा सडक, खानेपानी, स्वास्थ्य र जलस्रोत जस्तामा लगानी, पर्यटन प्रवद्र्धनसहित बेलायतदेखि नेपालसम्मको सिधा हवाई सम्पर्क, नवप्रवद्र्धन, महिला हिंसा विरुद्धको अभियान, आगामी नोभेम्बरमा बेलायतमा हुने क्लाइमेट चेन्ज शिखर सम्मेलनमा बिषय बस्तु किटानसहित सहभागीता र भूतपूर्व गोर्खाका समस्या समाधानका लागि प्राप्त गर्न सक्ने उपलव्धी लगायत रहेका छन ।

उनले एनआरएनए यूकेले तयार पारेका ठोस विषयमा नेपाल सरकार र बेलायत सरकार सँग छलफल गरेर निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त समेत गरे । राजदूत रेग्मीले एनआरएनए यूकेको प्रस्तावलाई गैरआवासीय नेपाली संघको सम्मेलनमा पनि प्रस्तावका रुपमा लैजान सुझाए ।

‘एनआरएनए युकेले ठोस बिषयहरु पहिचान गरि सर्वसम्मत प्रस्ताव तयार गरि कार्यान्वयनमा लैजान काउन्सिल बैठकले प्रस्ताव गर्नु पर्छ । त्यस बिषयमा दुतावास वा म आफै तपाईहरुसँग नजिकबाट काम गर्न तयार छु’, उनले भने । रेग्मी राजदुत नियुक्त भएर बेलायत आएपछि पहिलो पटक स्पष्ट रुपमा एनआरएनए युके समक्ष प्रस्ताव गरेका छन । उनले आगामी दिनमा अन्य संघसंस्थाहरुलाई भर्चुअल रुपमा भेटघाटलाई तीव्रता दिने जानकारी दिए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा जारी उक्त कार्यक्रम संयोजन उपाध्यक्ष रोजिनाप्रधान राईले गरेकी छन् ।एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले पहिलो चरणको कार्यक्रम सञ्चालन गरेका थिए ।