बेलायतका लागि नेपाली राजदूत रेग्मीले लिए सपथ

लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा विहिबार आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । रेग्मीसँगै दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय डा. निर्मलकुमार विश्वकर्माले पनि शपथ लिए ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रेग्मीलाई २०७७ आश्विन १५ गते विहिबारको मन्त्रीपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूतमा नियुक्ती दिने निर्णय गरेको थियो ।

२७ कार्तिक विहिबारमा उनको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको थियो । उनीविरुद्ध उजुरी परेको भएपनि उजुरीकर्ताहरु उक्त दिन उपस्थित भएका थिएनन् । एक महिना अघि उनी राजदूतमा नियुक्त भएका थिए ।

रेग्मी नेपाल सरकारका पूर्व मुख्यसचिव हुन् । स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ७ मा जन्मिएका रेग्मी सन् १९९५ मा गृह मन्त्रालयको शाखा अधिकृत पदबाट निजामति सेवामा प्रवेश गरेका थिए ।

बन तथा भू–संरक्षण मन्त्रालयको सह सचिव, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम दिभिकनको उपसचिव , पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको प्रशासक , बन तथा भू–संरक्षण मन्त्रालयको सचिव, अर्थ सचिव र गृह सचिव हुँदै सरकारको मुख्यसचिव भएर यस अघि सेवा गरेका थिए ।

यसैवीच आफ्नो चारबर्षे कार्यकाल सकेर यसअघि बेलायतका लागि नेपाली राजदूत रहेका डा. दुर्गा बहादुर सुबेदी स्वदेश फिर्ता भइसकेका छन् ।