तक्दीर अधिकारी
सिड्नी । प्रवासी नेपाली विद्यार्थी संगठनको प्रथम बार्षिकोत्सब सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सम्राट वलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, न्यू साउथ वेल्स महावाणिज्यदूत दिपक खड्का , एनआरएनए आइसीसी उपाध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्सका संयोजक देव गुरुङ, युवा विद्यार्थी तथा न्यू साउथ वेल्स इन्टरनेशनल स्टुडेन्ट अफ द इयर २०१७ अवार्डले सम्मानित याम प्रसाद धिताल लगायतको आतितथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत दाहालले अन्य कार्यक्रममा जसैगरी विद्यार्थीहरुलाई प्रेरणादायिक मन्तव्य दिएर उत्साहित बनाए । ‘मानिसको सफलताको मुख्य तत्व भनेको सकारात्मक सोँच हो,’ उनले भने, ‘विद्यार्थीहरु सधै सकारात्मक सोँचेर अघि बढ्नुपर्छ, यसैले सफलता दिलाउन बाटो देखाउँछ ।विद्यार्थीहरुलाई निरन्तर रुपमा मिहेनत गर्न आग्रह गर्दै मिहेनतले नै मानिसलाई सफलताको शिखरमा पुर्याउने बताए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि एनआरएनए आइसीसी उपाध्यक्ष मना केसीले विद्यार्थीहरुको हकहिकतका काम गर्नको निम्ती एनआरएनए सधै तत्पर रहेको बताए । मानिसको जीवनमा अवसरहरु निश्चित मात्र आउने भएको कारण ती अबसरहरुलाई मिस नगर्न सुझाव दिए ।
त्यसैगरी न्यू साउथ वेल्स महावाणज्य दूत दिपक खड्काले विद्यार्थीहरुले क्वालीटि एजुकेशन लिनुपर्ने र जस्तो कलेजमा अध्ययन गरेँ भन्दा पनि के शिक्षा लिएँ मेरो ब्यक्तिगत क्षमतामा के बिकास भयो भन्ने कुरामा ध्यान दिन आग्रह गरे ।
एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य संयोजक देव गुरुङले विद्यार्थी भोलीको मूलुक हाँक्ने बर्ग पनि भएकोले सवल हुनेगरी अध्ययन गर्न सुझाव दिदै विद्यार्थीहरुलाई परेको समस्या समाधानमा आफूले पनि साथ दिने बताए ।उनले भने ‘मैले विद्यार्थीको सेवा गर्दा के पाउछु भन्ने कुरामा विश्वास गर्दिन बरु यसले मलाई भरपूर सन्तुष्टि दिन्छ’,

प्रमुख अतिथि राजदूत दाहालले पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रममा संगठनकी सचिब प्रतिभा घर्ती मगरले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रम सञ्चालन अनिश ढकालले गरेका थिए । विद्यार्थीहरुको तर्फबाट किशोर विष्ट र विवेक महराले मन्तव्य राखे ।कार्यक्रममा संगठनका अध्यक्ष सम्राट वलीले संगठन स्थापना गर्नुको उद्धेश्यलाई प्रष्ट पार्दै स्थापनाको एक बर्षसम्म गरिएको काम र आगामी दिनको योजना सहितको प्रतिवेदन प्रस्तुत गरे ।कोरोनाभाइरस महामारीको नियन्त्रण गर्न सरकारले तोकेको मापदण्ड अनुसार नै उक्त कार्यक्रम गरिएको थियो ।

सबै राज्यमा कार्यसमिति विस्तार गरिने
कार्यक्रममा संगठनका अध्यक्ष सम्राट वलीले संगठन स्थापना गर्नुको उद्धेश्यलाई प्रष्ट पार्दै स्थापनाको एक बर्षसम्म गरिएको काम र आगामी दिनको योजना सहितको प्रतिवेदन प्रस्तुत गरे ।

अवसरमा संस्थाले पहिलो बर्ष पार गरेको खुशीयाली मनाउदै हाल सिड्नीमा मात्र सीमित रहेको संस्थाको कार्यक्षेत्र अन्य स्टेटहरुमा पनि बिस्तार गर्ने निर्णय गरेको छ ।हालसम्म आधिकारिक रुपमा सिड्नीमा मात्र रहेको संस्थाले अस्ट्रेलियाका अन्य राज्यमा पनि कार्यक्षेत्र विस्तार गर्ने गरी फर्म खुला गरेको छ । संगठनमा बसेर काम गर्न चाहने विद्यार्थी स्वयंले उक्त फर्म भरी सबै विवरणहरु पेश गर्न आग्रह गरिएको छ । अध्यक्ष वलीले गूगल फर्मको आधारमा सबै स्टेटमा जिम्मेवारी तोकिने बताए ।‘यत्तिकै हामीले व्यक्ति सेलेक्सन गर्यौ भने आफ्नो या पार्टीको मान्छे राख्यो भन्न थाल्छन भनेर नै निष्पक्ष बनाउनको निम्ती फर्म बनाएका हौँ ।’
संस्थामा नेतृत्व गरेर काम गर्न चाहनेहरुले फर्म भनै यहाँ क्लिक गर्न सकिनेछ ।
पछिल्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थी आउने क्रम बढ्दै गइरहेको छ । विद्यार्थीको संख्या बढ्दै जाँदा विद्यार्थीकै निम्ती भनेरै धेरै संघसंस्थाहरु स्थापना हुने क्रम पनि बढ्दो छ । त्यसैगरी अष्ट्रेलियामा विद्यार्थी केन्द्रीत कन्सलटेन्सीहरुपनि खुल्ने क्रम बढीरहँदा उनीहरुको चंगुलमा विद्यार्थी फस्ने क्रम पनि नराम्रोसंग बढेको देखिन्छ ।
खासगरी विभिन्न खेल तथा प्रतियोगिता या कार्यक्रमको नाममा विद्यार्थीहरुलाई आफूतर्फ तान्ने, भर्ना गराउने र आर्थिक लेनदेन गर्ने क्रम बढीरहेको छ। कन्सलटेन्सीहरु मात्र नभएर विभिन्न संघसंंगठन, राजनीतिक दल लगायत सबैले विद्यार्थीलाई प्रयोग गर्छन । यहाँ राजनीति गर्ने व्यक्तिहरुले नेपालको राजनीति हुबहू अभ्यास गर्ने र तिनै गतिविधिहरु पच्छाउने गरेको पाइएको छ । संघसंस्थामा पनि चरम राजनीति गर्ने गरिन्छ । जसको कारण विद्यार्थीहरुका हकअधिकार ओझेलमा पर्दै आएका छन् ।
एजेन्टहरुलाई कमिशन दिएर विद्यार्थी तान्ने ती कन्सलटेन्सी तथा एजेन्टहरुले विद्यार्थीहरुलाई विभिन्न आर्थिक दवावमा राख्ने, कम पारिश्रमिक दिएर चरम शोषण गर्ने गरेका छन् । विद्यार्थीलाई कहाँ उजुरी गर्ने थाहा नहुने, भिजाको समस्या पनि हुनाले उनीहरु थप प्रताडित बन्ने गरेका छन् । यस परिस्थितीमा यसरी स्थापना हुने विद्यार्थी संघसंगठनले विशेष ध्यान दिनू आजको आवश्यकता होे ।










