बेलायतमा कोभिड नियन्त्रणका लागि ३३ मिलियन पाउण्ड जुटाएका हिरो क्याप्टेन टमको कोभिडकै कारण निधन

लन्डन । बेलायतमा कोरोनाभाइरस महामारी विरुद्धको लडाईमा ‘हिरो’को उचाइ बनाएका क्याप्टेन सर टम मूरेको कोभिडकै कारण निधन भएको छ ।

टमले कोरोना भाइरससँग जुध्नको लागि बेलायतलाई लाखौं डलर सहयोग गरेका थिए । उनको गयराती उपचारका क्रममा बेडफोर्ड अस्पतालमा निधन भएको हो । एक सय वर्षका टमले गतवर्ष आफ्नै बगैचामा एक सय पाइला हिंडेर नेशनल हेल्थ सर्भिस एनएचएसका लागि झन्डै ३३ मिलियन पाउण्ड च्यारिटीको लागि रकम जम्मा गरेका थिए ।

मूरले राष्ट्रिय स्वास्थ्य सेवामा गरेको उक्त असाधारण कोष संकलन गर्दे सबैको मन जिते । टम एक हप्ताअघि कोरोना संक्रमणको सिकार भएका थिए । निमोनियाको उपचार गराइरहेका क्याप्टेन मोरको गत हप्ता कोरोना पोजिटिभ देखिएको थियो ।

दोस्रो विश्वयुद्धको समयमा उनले भारत र म्यानमारमा सेवा गरेका थिए । उनले आफ्नो टाउकोमा भएको क्यान्सर उपचार गराएपछि एनएचएसमा च्यारिटी गर्ने अभियान चलाएका थिए । टमको निधनमा बेलायतकी महारानीले समवेदना व्यक्त गरेकी छिन् ।

महारानीले टमको योगदान सराहनीय रहेको र विश्वलाई नयाँ तरिकाले बाँच्न सिकाएको प्रतिक्रिया दिएकी छिन् । उनलाई एउटा विशेष समारोहमा महारानी एलिजावेथले सम्मान पनि गरेकी थिइन् ।

उनको यो अभियानले गिनिज बुक वर्ल्ड रेकर्डसमेत बनाएको थियो। यसै अभियानबाट उनले मनार्थ कर्णेल पदवी पाएका थिए। उनको १०० औं जन्मदिनमा बेलायती सेनाले विशेष समारोहको आयोजना गरि विमान परेडले उनको सम्मान गरेको थियो।