अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम शुक्रवारदेखि शुरु हुँदै

सिड्नी । गायन प्रतिभा प्रोत्साहन गर्ने उद्धेश्य सहित आयोजित हल अफ फेमको सिजन २ शुक्रबारबाट शुरु हुँदै छ । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो अनलाइन गायन रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट राति ८ बजे गरिनेछ ।

विश्वभरका सैयौं प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा छ । कोभिड १९ कोरोना महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अन्तर्राष्ट्रिय अनलाईन प्रतिस्पर्धामा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र रेजिना रिमालले निर्णायककोे भूमिका निर्वाह गर्र्ने एमएनटिभी अष्ट्रेलियाका प्रमुख चिरन्जीवि देवकोटाले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र मिस नेपाल ओसेनिया २०२० जेमिना श्रेष्ठले संयुक्त रुपमा गर्नेछन् ।
जेमिना र निर्णायक मण्डलका सदस्य गायक विवेक श्रेष्ठ दुवैले अष्ट्रेलियाबाटै आफ्नो भूमिका निर्वाह गर्ने भएका छन् ।

एमएनटीभी अष्ट्रेलियाका ब्रान्ड एवं मार्केटिंग म्यानेजर रमन झाले निर्णायकले ७० अंक र दर्शकहरुको प्रतिक्रियाबाट ३० अंक दिइ विजेताको घोषणा गरिने जनाए ।

हल अफ फेम सिजन २ मा सहभागी हुन कुनै उमेरको बन्देज लगाइएको छैन भने विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् । गत नोभेम्बर १५ सम्ममा आएका आवेदनमध्येबाट निर्णायक मण्डलले टप ५० को छनोट गरेका प्रमुख देवकोटाले जानकारी दिए ।

गायन प्रतिस्पर्धाहरुमा आफ्नो कला देखाइसकेका निर्देशक लक्ष्मण पौडेलले दर्शकहरुले यस प्रतियोगिताबाट नयाँपन महसुस गर्ने बताए । हल अफ फेमको टाईटल विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् जसमा १ लाख नगद र गीत रेकर्डिंग, म्युजिक भिडियो निर्माण, अन्तर्राष्ट्रिय प्रवर्द्धन लगायत समावेश छ ।