न्यू साउथ वेल्समा ७ संक्रमित थपिए, अब मास्क नलगाएमा २ सय डलर जरिवाना

तक्दीर अधिकारी

सिड्नी । न्यू साउथ वेल्समा ७ जना नयाँ संक्रमितहरु थपिएका छन् । गत २४ घण्टामा ३२ हजार नमुना परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । जसमा ४ जना एकै घरका हुन भने एक जना संक्रमितको स्रोत भेटिएको छैन । एक जनाको विषयमा अनुसन्धान भइरहेको छ ।

नर्दन बिचमा लकडाउन खोलिएसँगै संक्रमण देखिन थालेको यहाँको स्वास्थ्य विभागले जनाएकोे छ । संक्रमण देखिन थालेसँगै ग्रेटर सिड्नी क्षेत्रमा प्रतिबन्धहरु लगाइने भएको छ । सार्वजनिक यातायात, सपिङ्ग सेन्टर, हेयर तथा ब्यूटि सलुन लगायत मानिसहरुको भिडभाड भएका ठाँउहरुमा जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने भएको छ । यदि कसैले मास्क नलगाएको पाइएमा २०० डलर जरिवाना तिराइने भएको छ । त्यसैगरी जिम सेन्टरमा मानिसहरुको ५० जना बाट घटाएर ३० जना मात्र जान पाउने बनाइएको छ । पूजा स्थलहरुमा १०० जना मात्र जान पाउने छन् । नाइटक्लब तथा नाचगान स्थलहरुमा पनि मानिसहरुको उपस्थितीमा कडाई गरिने भएको छ ।

्न्यू साउथ वेल्सका प्रिमियर ग्लैडीस बेरेजिक्लियनले घरबाहिर हुने समारोहहरुमा उपस्थित हुन पाउने मानिसहरुको संख्या १ हजारबाट घटाएर ५ सय बनाइएको जानकारी दिइन् । त्यसैगरी अन्य कार्यक्रमहरुमा उपस्थित हुने संख्या ५ हजारबाट घटाएर २ हजार बनाइएको छ । बेरेजिक्लियनले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अर्थतन्त्र पनि चलाएमान गराइराख्नुपर्ने बताइन् ।

नयाँ बर्ष स्वागत समारोह र क्रिसमसमा भिडभाड भएको कारण सिड्नीमा समु्दायमै कोरोना संक्रमण भएको आशंका गरी व्यापक सतर्कता अपनाइएको छ ।