काठमाडौं । मध्य क्रोएशियामा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् । पेट्रेनियामा १२ वर्षकी एक बालिका, पाँच जनाको ग्लीनामा मृत्यु भएको जनाइएको छ । मृत्यु भएका सातौँ व्यक्ति जाजीनास्थित एउटा गिर्जाघरको भग्नावशेषमा फेला परेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिँदै छ ।
भूकम्पको प्रभाव क्रोएशियाको राजधानी जाग्रेब , छिमेकी बोस्निया र सर्वियाका साथै इटलीसम्म महसुस गरिएको थियो । सरकारी सञ्चारमाध्यमका अनुसार एक जना महिलालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । छिमेकी सहर सिसाकमा पनि मानिसहरू घाइते भएका छन् । राष्ट्रिय प्रसारक एचआरटीले स्थानीय अस्पतालहरूलाई घाइतेहरूको उपचार गर्न गाह्रो भएको जनाएको छ । केही घाइतेलाई शल्यक्रियाको आवश्यकता रहेको बताइएको छ । जर्मन रिसर्च सेन्टर फर जीओसाइन्सेसका अनुसार स्थानीय समय अनुसार ११ बजेर १९ मिनेट जाँदा भूकम्प आएको हो ।






