बेलायतमा भिसी थापाको सालिक बनाउन, नेपाली वेलफेयर सोसाइटीले गर्‍यो ११ सय पाउण्ड सहयोग

शिव भण्डारी, लण्डन । प्रथम भिक्टोरिया क्रस (भिसी) विजेता कुलबीर थापाको सम्झनामा ग्रेटर रशमोर नेपाली कम्युनिटीको विशेष पहलकदमीमा अल्डरसटको प्रिन्सेस गार्डेनमा बनाउन लागिएको सालिकका लागि नेपाली वेलफेयर सोेसाइटी यूकेले आर्थिक सहयोग गरेको छ।
गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओम थापाका अनुसार शनिवार यूकेको फानब्रो स्थित रशमोर बर्रों काउन्सेल अफिसको प्राङ्गणमा एक कार्यक्रममा अभियानलाई साथ दिदै सोसाइटीले एक हजार एक सय पाउण्ड सहयोग गरेको हो ।
समाजसेवालाई आफ्नो ‘प्यासन’ ठानी अनवरत रुपमा सामाजिक कार्यमा रहेका नेपाली वेलफेयर सोसाइटी न्यूज यूकेका अध्यक्ष धन बहादुर सार्कीले ग्रेटर रशमोर नेपाली कम्युनिटीले थालेको उक्त कार्यले गोर्खालीहरुको शान बढाउने बताए ।नेपाली वेलफेयर सोसाइटीले यसअघि कोरोनाभाइरस महामारीको कारण समस्यामा परेका धेरै नेपालीहरुलाई सहयोग गरिसकेको छ । त्यतिमात्र नभएर बाढी पहिरो पीडित हजारौ नेपालीहरुको घरमा चुल्हो बाल्ने काम गरेको संस्थाले हवल्दार थापाको शालिक निर्माणमा पनि ऐक्वबद्धता जनाउदै उक्त सहयोग गरेको र यस सहयोगले नेपालीहरुको शान बढाउने कार्यमा मद्धत पुग्ने विश्वास लिइएको अध्यक्ष सार्कीले बताए ।
परियोजनाका अध्यक्ष राईले परियोजनाकोे कार्यप्रगती विवरण प्रस्तुत गर्दै शालिक निर्माण कार्य धमाधम अघि बढीरहेको जानकारी दिए ।
अध्यक्ष राईले आफुहरुले चालेको अभियानमा साथ दिएको नेपाली वेलफेयर सोसाइटी परिवार तथा अध्यक्ष धन बहादुर सार्कीलाई विशेष धन्यवाद दिए । त्यस्तै क्याम्बर्ली नेप्लीज गोर्खा एसोसियसनका अध्यक्ष क्याप्टेन देव घलले परियोजनाको सफलताको निम्ती शुभकामना दिए। बेलायतको एक सामुहिक ऐतिहासिक परियोजना मानिएको उक्त कदमको निम्ती विभिन्न नेपाली समुदायहरुले ऐक्वयद्धता जनाएका छन् ।
प्रवक्ता ओम प्रसाद थापाले अभियानको निम्ती हालसम्म १५६ व्यक्ति तथा संस्थाहरुले सहयोग गरेको र अधिकाशंहरुले सहयोग रकम तोकिएकै समयमा बुझाइसकेको जानकारी दिए । उनले अझै केही व्यक्ति तथा संस्थाहरुले रकम बुझाउन बाँकी रहेको भन्दै एक दुई दिनमै उपलब्ध गराइदिन आग्रह गरे । अन्यथा परियोजना निर्माणमा कठिनाई हुने उनको भनाई छ । हाल प्रवक्ता थापाले शालिक निर्माणको निम्ती सामाजिक सञ्जाले देखि मिडिया सम्ममा पैरवी गर्दै आएका छन् ।
यस शालिक निर्माण कार्य बेलायतबासी नेपालीहरुको एक ऐतिहासिक कार्य भएको भन्दै परियोजना सम्पन्न भएपश्चात नेपाली गोर्खालीहरुको शान बढ्ने यहाँस्थित नेपाली समुदायले विश्वास व्यक्त गरेका छन् । त्यसैगरी गुल्मी जिल्ला समाज युकेका अध्यक्ष एबम प्रोजेक्टका कोषाध्यक्ष
टोप पल्लीले अभियानमा सहयोग गर्नै सबैको कामको प्रशंसा ब्यक्त गर्दै यस शालिक निर्माण अभियानलाई एक साझा कामको रुपमा अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा बिद्यमान कोरोना भाइरस संक्रमणमा अपनाइनुपर्ने सरकारको नितिलाई मध्यनजर गर्दै सामाजिक दूरिलाई बिशेष ध्यान दिदै कार्यक्रम सम्पन भएको परियोजनाका प्रवक्ता ओम थापा काउचाले जानकारी दिए ।