अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको हो । आइतवार उनलाई विशेष अदालतमा उपस्थित गराएर ४ घन्टा बयान लिइएको थियो ।

अख्तियारको आयुक्त हुनुअघि तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका बेला बस्न्यात बालुवाटार जग्गा प्रकरणमा मुछिएका थिए ।

अख्तियारले बस्न्यातविरुद्ध ९ करोड ६५ लाख ७६ हजार विगो दावी गर्दै ८ देखि १० बर्ष जेल सजायको माग गर्दै २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।

गत वर्ष २२ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा उनीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

उनलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।