चायापाेताे कसलाइ आउँछ : गर्भवति, गर्भपतन गराएका र परिवार नियोजनका औषधि खाने महिला

चाया–कालोपोतो कसरी हटाउने ?

राम्रो देखिने मन सबैलाई हुन्छ । तर, कतिपयको जिउडाल चिटिक्क भए पनि अनुहारमा आएको कालोपोतो तथा चायाले रूपरङ नै बदलिदिन्छ । पछाडिबाट हेर्दा ‘क्या’ देखिने व्यक्ति अगाडिबाट ‘छ्या’ लाग्न सक्छ । कालोपोतो तथा चायाले अनुहारलाई कुरूप बनाएको हुन्छ ।

यस्तो समस्या भोगिरहेकाहरू उपचारका लागि घरेलु जडीबुटीदेखि बजारमा चलेका अनेकौँ क्रिमको पछाडि दौडन्छन् । चिकित्सकको परामर्शविना जथाभावी प्रयोग हुने कतिपय क्रिमले उल्टै छालामा असर गर्न सक्छ ।
वरिष्ठ छालारोग विशेषज्ञ डा. अनिलकुमार झा भन्छन्, ‘चाया आउनुमा विभिन्न कारण हुन सक्छन् ।’ उनले पुरुष र महिलामा आउने कालोपोतो तथा चायाका कारण पनि फरक–फरक हुने बताउँछन् । उनी भन्छन्, ‘सामान्य त चायापोतो घामका कारण आउने गर्छ । घाम लाग्दा आउने अल्ट्राभाइलट किरणले छालाको रङ तयार गर्ने तइभ्व ‘मेलानिल’लाई पूरै क्रियाशील बनाउँछ । जब मेलानिल आवश्यकभन्दा बढी उत्पादन हुन्छ, तब अनुहारमा चायापोतो देखिन थाल्छ ।’

निधार र गालामा मेलानिल तइभ्व बढी मात्रामा हुने र घामको स्पर्शले एक्कासि क्रियाशील हुने भएकाले अनुहारमा बढी चायापोतो आउने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘छाला कालो, खैरो वा गोरो बनाउने तइभ्वलाई मेलानोसाइट भनिन्छ । यो गाला, निधार, काखी, काप र जाँघहरूमा बढी मात्रामा हुन्छ, त्यसैले ती स्थानमा छिटो प्रभाव देखिन्छ ।’

साधारणत: पुरुषमा घामकै कारणले अनुहारमा चाया आउने गर्छ, तर महिलाको हकमा घामसँगै अन्य कारण पनि हुन सक्छन् । डा. झा भन्छन्, ‘गर्भवती अवस्थाकी महिला, गर्भपतन गराएका महिला, परिवार नियोजनका विभिन्न औषधि (गर्भनिरोधक चक्की पिल्स, नरप्लान्ट वा कन्ट्रासेप्टहरू)को सेवन गर्ने महिलालाई चायापोतोको समस्या देखिन सक्छ । त्यस्तै, महिनावारी गडबडी तथा पाठेघरमा समस्या र कतिपय वेला हर्मोनका कारण पनि यस्तो अवस्था आउन सक्छ ।’

गर्भावस्थामा आउने चायापोतोलाई कोलाज्मा र अन्य कारणले आउने चायापोतोलाई मेलाज्मा भनिन्छ । हर्मोनको प्रयोग र शरीरभित्रका कमजोरीले पनि चायापोतो आउने गरेको अध्ययनले पुष्टि गरिसकेको छ ।

कतिवेला आउँछ अनुहारमा चायापोतो ?
सामान्यत: यति नै वेला भन्ने हुँदैन । छालारोग विशेषज्ञ डा. झा भन्छन्, ‘प्राय: १५ देखि ४५ वर्ष उमेरसम्मका महिला तथा पुरुषमा बढी समस्या देखिन्छ । महिलामा महिनावारी रोकिने वेला बढी हर्मोनको अन्तर हुन सक्छ । यही वेला चाया आउन सक्छ । त्यसैगरी, पाठेघरको समस्याले पनि चाया आउँछ ।

कारण पत्ता लगाएर उपचार गरेमा चायापोतोलाई रोक्न सकिन्छ । डा. झा भन्छन्, ‘चायापोतो आएका गर्भवती महिलाले प्रसूति तथा स्त्रीरोग विशष्ोज्ञलाई देखाई उचित उपचार गर्नुपर्छ । कतिपय अवस्थामा औषधि प्रयोग, केमिकल र लेजर प्रविधिबाट चायालाई हटाउन सकिन्छ ।’

अनुहारमा देखिने चायापोतोलाई दुई किसिमले पहिचान गर्न सकिन्छ । भित्री छालाको पत्रमा र बाहिरी छालाको पत्रमा आउने चाया । छालाको माथिल्लो पत्रमा हुने अर्थात् बाहिरी पत्रमा हुने चायापोतो सजिलै औषधिबाट निको हुन्छ, तर छालाको तल्लो पत्रमा हुने चाया औषधिबाट निको हुन समय लाग्छ । कपितय अवस्थामा यस्तो समस्या समाधानका लागि लेजर प्रविधि अपनाउनु राम्रो मानिन्छ ।

के गर्ने त ?
साधारणत: घामका किरणले चायापोतो आउने भएपछि घामबाट आफ्नो अनुहार जोगाउनुपर्छ । यसका लागि अनुहार छोप्नु, घाम छेक्ने चस्मा, टोपी, तथा रुमालको प्रयोग गर्नु तथा कडा घाममा ननिस्कन चिकित्सकहरू सल्लाह दिन्छन् । तर, कतिपय अवस्थामा यो सल्लाहबमोजिम गर्नु सजिलो छैन । विकल्प के त ? डा. झा भन्छन्, ‘घामको किरणबाट अनुहारलाई जोगाउनु नै उपयुक्त विकल्प हो, त्यसका लागि टोपी, चस्मा, मास्क तथा अन्य घाम छेक्ने कपडाको प्रयोग गर्नुपर्छ । यदि निस्कनै परे बजारमा घामबाट बच्ने सन–ब्लक र सनस्क्रिन क्रिम लगाउनु नै फाइदाजनक हुन्छ ।’ धेरै नै चाया आउनेले घरमा बस्दा वा मधुरो घाममा पनि सन–ब्लकको प्रयोग गर्न उनी सुझाब दिन्छन् ।