लण्डन । बेलायतले फाइजर कम्पनीद्धारा बनाइएको कोभिड–१९ विरुद्धको भ्याक्सिनको प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।
बेलायत फाइजर,बायोएनटेकको कोरोना भ्याक्सिनलाई व्यापक उपयोगका लागि स्वीकृती प्रदान गर्ने विश्वको पहिलो देश बनेको छ । उक्त खोप एक हप्ता भित्रै प्रयोग थालिने भएको छ ।
उच्च प्राथमिकतामा रहेको समूह अर्थात् अधिक खतरा भएका मानिसहरुका लागि प्रतिरक्षण आगामी केही दिनमा नै सुरु हुने बताइएको छ ।
बेलायतले यसअघि नै उक्त भ्याक्सिनको ४ करोड डोजका लागि अर्डर दिइसकेको छ । जसमा प्रत्येक व्यक्तिलाई भ्याक्सिनको दुई डोज दिइनेछ। अर्थात् तत्कालका लागि दुई करोड मानिसहरुले भ्याक्सिनको डोज पाउन सक्नेछन् ।
७ डिसेम्बरमा नै आइपुग्ने
बेलायतमा अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप डिसेम्बरको पहिलो साताभित्र नै उपलब्ध हुने विवरण सार्वजनिक भएको छ। एनएचएस इंग्ल्यान्डले बेलायत कोरोनाविरुद्धको खोपका लागि तयारी अवस्थामा रहन आह्वान गरेको जनाइएको छ । बेलायती अखबारका अनुसार अस्पतालहरूमा ७ देखि ९ डिसेम्बरभित्र खोप आइपुग्नेछ ।
फाइजर र बायोएनटेकले विकास गरेका उक्त खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी हुने बताइएको छ ।स्वास्थ्यविद्हरूका अनुसार खोपलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने भएको कारण भण्डारण र ओसारपसारमा चुनौती रहेको छ ।
बेलायत सरकारले फाइजर र बायोएनटेकको ४ करोड डोज, अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज ‘अर्डर’ गरिसकेको जनाएको छ ।






