तक्दीर अधिकारी
सिड्नी । परदेशमै रहेपनि कला र संस्कृतको संरक्षण र सम्वद्र्धन गर्ने गरि सिड्नीमा उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठपर्व मनाइकएको छ । विगतका बर्षमा भव्य रुपमा पर्व मनाइने गरिएको भएपनि यसपटक भने कोभिड १९ महामारीको कारण फरक किसीमले मनाइएको हो । शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् ।
यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठपर्व सम्पन्न भएको छ । चिपिङ्ग नर्टनको एन्जलपार्कमा भएको पुजाआजा कार्यक्रमको व्यवस्थापनको काम असोसिएसन अफ नेपाल तराई अष्ट्रेलिया एन्टाले गरेको थियो । ब्रतालुहलाई पुजापाठमा सघाउने देखि भिडभाड व्यवस्थापन लगायतका स्वयंसेवामूलक कार्य एन्टाले गरेको थियो भने सूर्यलाई अर्घ दिएसँगै खजुरीया लगायतका प्रसाद समेत वितरण गरिएको थियो । सिड्नीमा सन् २०११ देखि नै छठ पर्व मनाउँदै आएको एएनटिएका अध्यक्ष प्रविन चौरसियाले जानकारी दिए । चौरासियाका अनुसार केही बर्ष अघि सम्म मानिसहरुले घरघरमै मनाउने गरेका थिए, तर गत बर्षदेखि उत्साहप्रद रुपमै पर्व मनाउन थालिएको हो । तर यस बर्ष कोभिडको कारण गत बर्षकै जसरी भव्य कार्यक्रम गर्न भने सकिएन । अघिल्ले बर्ष २ सय भन्दा बढी मानिसहरु जमघट भएका थिए । 
यस अघि भव्य समारोहकै साथ पर्व मनाइने भएपनि यस बर्ष महामारीको अवस्थालाई ध्यान दिदैँ कम भिडभाडका साथ पुजा कार्यक्रम गरिएका एन्टाका सहकोषाध्यक्ष अन्जु शाहले बताइन् ।
सरकारले ३० जनालाई मात्र अनुमति दिएको भन्दै ब्रतालुहरुलाई मात्र बोलाइएको उनको भनाई छ । कोरोना महामारी सम्बन्धी न्यू साउथ वेल्स राज्य सरकारले तोकेको प्रोटोकल अपनाएर पुजाआजा सम्पन्न गरिएको एनआरएनए आइसीसी सदस्य तथा तराई समाजका सल्लाहकार अरुण कुमार ठाकुरले बताए । उक्त अवसरमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साथ वेल्स राज्य परिषदका संयोजक देव गुरुङ्ग सहित सामाजिक संघ संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
नेपाल र अष्ट्रेलियामा रहेका छठपर्व मनाउने नेपालीहरुले शनिवार विहान सूर्यलाई अर्घ दिएसँगै पव सकिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व बुधबारदेखि शुरु भएको थियो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिनअर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ दिएपछि यो पर्व सम्पन्न भएको हो । मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् ।
विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ लागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विगत वर्षमा बेहुलीझैँ सिँगारी राजधानीमा मनाइने छठ यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण भौतिक दूरी कायम गरी मनाइएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।








