काइरो, ९ वैशाख । इस्लामिक स्टेट समूहका साथमा जिहादी समूहविरुद्ध सङ्घर्ष गर्न क्षेत्रीय सैनिक बल तयार गर्ने उद्देश्यले अरब लिगका मुलुकहरूको सेना प्रमुखहरूको बैठक काइरोमा बुधबार आरम्भ भएको छ । यस क्षेत्रीय समूहले मार्च महिनामा यस प्रकारको सैनिक बल गठन गर्ने सहमति व्यक्त गरेको थियो । यस्तो सेनाको संरचना र त्यसमा संलग्न हुने नियमहरूका विषयमा सहमति गर्न सदस्य मुलुकहरूले आफूलाई चार महिनाको समय दिएका थिए । बुधबारको बैठकको आयोजना इजिप्टको सशस्त्र सेनाका प्रमुख महमुद हेगाजीले गर्नुभएको बताइएको छ ।
इस्लामिक स्टेट सङ्गठनले लिबियामा फेब्रुअरीमा इजिप्सियन कोप्टिक क्रिस्चियनका एक समूहको हत्या गरेपछि इजिप्टका राष्ट्रपति अब्देल फाताह अल–सिसीले यस प्रकारको क्षेत्रीय सेना सिर्जना गर्ने कार्यलाई अगाडि बढाउनुभएको थियो । उक्त आक्रमणपछि काइरोले हवाई आक्रमण गरेको थियो ।
यमनमा इरानले समर्थन गरेको सिया हुथी विद्रोहीमाथि साउदी अरेबिया तथा उसका अरबी गठबन्धनले हवाई आक्रमण गरेपछि यो प्रक्रियाले थप बल प्राप्त गरेको हो ।
अरब लिगका प्रमुख नबिल अल अराबीले बुधबार बैठकलाई सम्बोधन गर्दै अरब सैनिक बलको सिर्जना कुनै पनि मुलुकप्रति अक्रमक हुने गरी नयाँ गठबन्धन तयार गर्ने प्रयास नभएको बताउनुभयो । उहाँले यस्तो बलले आतङ्वादविरुद्ध सङ्घर्ष गर्ने, सुरक्षा व्यवस्था कायम गर्ने तथा यस क्षेत्रमा शान्ति तथा स्थायित्व कायम गर्ने बताउनुभयो ।
आईएसले यस क्षेत्रमा व्यापक दमनकारी कार्य गरेको छ र यस समूहलाई अन्य धेरै जिहादी सङ्गठनको समर्थन प्राप्त भएको छ । यस समूहले आइतबार लिबियामा पक्राउ गरिएका ३० इथियोपियाली क्रिस्चियनको हत्या गरेको भिडियो चित्र सार्वजनिक गरेको छ ।
क्षेत्रीय सेनाको योजना गर्न अरब सेना प्रमुखको भेला






