पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, ९ वैशाख । पोर्चुगलमा राम्रो कामका लागि पठाइदिन्छु भनी ठगी गर्नेे तनहुँ वसन्तपुर गाविस–२ का २५ वर्षीय शेखरभद्र खनाललाई आज प्रहरीले पक्राउ गरेका छन् । खनालले काठमाडौँ थानकोट बस्ने पाँचथर लुङरुपाकी २७ वर्षीया अन्जना राईलाई विभिन्न प्रलोभनमा पारी पोर्चुगलमा राम्रो कामका लागि पठाइदिने भनी उनको राहदानी र नगद रु चार लाखसमेत लगेर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको हो । नयाँबानेश्वरमा डेरा गरी बस्ने खनाललाई महानगरीय अपराध महाशाखाको टोलीले अनामनगरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग तिनकुने काठमाडौँ पठाइएको छ ।