लण्डन । अन्तरराष्ट्रिय बजारमा सोमवार कच्चा तेलको भाउ घटेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न बेलायतले नयाँ लकडाउनको घोषणा गरेपछि तेलको भाउ घटेको हो । नयाँ लकडाउनले आर्थिक गतिविधिमा धक्का पु¥याउने र तेलको माग पनि सुस्त बनाउने चिन्ता बढेको छ । यसै हप्ता अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन लागेकाले पनि कमोडिटिज र शेयर बजार दबाबमा आइरहेका छन् । एशियाली ट्रेडिङ आवर्समा सोमवार ब्रेन्ट क्रुडको भाउ ५ दशमलव ८ प्रतिशतले घटेर प्रतिब्यारेल ३५ डलर ७४ सेन्टसम्म आएको थियो ।
तेलको भाउ मेको अन्त्ययता यस स्तरमा ओर्लिएको थिएन । यस वर्षको शुरूयता ब्रेन्ट क्रुडको भाउ ४५ प्रतिशत घटिसकेको छ । सोमवार अमेरिकी बेञ्चमार्क यूएस क्रुड आयलको भाउ पनि ७ प्रतिशत घटेर प्रतिब्यारेल ३३ डलर ६४ सेन्टमा झरेको थियो । यो समाचार तयार पार्दाको बेला भने कमी केही घटेको थियो । कोरोना भाइरसको संक्रमण सुस्त बनाउन यूरोपेली देशले पुनः लकडाउनका उपाय अपनाएका छन् । लकडाउनका कारण विश्वमा तेलको माग व्यापक घट्ने बहुराष्ट्रिय तेल कम्पनीहरूको प्रक्षेपण छ ।






