अष्ट्रेलियामा नेपालीलाई अर्को सफलता लुनाले सम्हालिन अन्तराष्ट्रिय विद्यार्थी संगठन को जिम्मेवारी

तक्दीर अधिकारी

सिड्नी । नेपाली चेली लुना मानन्धरले अन्तराष्ट्रिय विद्यार्थी संगठन हाँक्ने भएकी छन् । सिड्नी स्थित ४० हजार विद्यार्थी रहेको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी अर्थात यूटिएस स्थित यूटिएस स्टुडेन्ड असोसिएसनको अन्तराष्ट्रिय अधिकृतको रुपमा निर्वाचित भएकी हुन् । यो सँगै उनले ४० हजार विद्यार्थी रहेको युटिएसमा विद्यार्थीहरुको अग्रमोर्चामा रहेर काम गर्नेछिन् । यूटिएसमा झन्डै २० हजार अन्तराष्ट्रिय  विद्यार्थीले अध्ययन गरिरहेका छन् । हाल अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु जाने र डिग्री लिने क्रम बढ्दो छ, तर सोचिएजस्तो गरी विश्वविद्यालयहरुमा उनीहरुले नेतृत्व लिन सकेका छैनन्  तर मानन्धरको यो जित सँगै यहाँ स्थित नेपालीहरुमा छुट्टै किसीमको ‘चार्मिङ’ देखिएको छ ।

बनेपा काभ्रे घर भएकी लुना २ बर्ष अघि नर्सिङ्गमा ब्याचलर गर्न अष्ट्रेलिया आएकी हुन् । निर्वाचित भइसकेपछि लण्डन नेपाल न्यूज सँग कुराकानी गर्दै उनले यस प्रकारको जिम्मेवारीले आफुलाई काम गर्न हौसला मिलेको बताइन् । “भविष्यमा अध्ययन पुरा गरेपछि अस्पताल भन्दा पनि समुदाय स्तरमै काम गर्ने मेरो इच्छा छ” उनले भनिन् । यस अभियानमा हालसम्म सिसाका पुर्वअध्यक्ष विजय सापकोटा सँगै उनका साथी डोमी डाना जोन्सन लगायतको आफ्नो विद्यार्थी राजनीतिको यात्रामा साथ दिएको उनले बताइन् ।

सिसाका पूर्वअध्यक्ष रहेका बिजय सापकोटाले लण्डन नेपाल न्यूज सँग भने, “लुना जी ले इन्टरनेशनल अफिसरको रुरपमा चुना जित्नु हाम्रो लागि सौभाग्यको कुरा हो, यो सँगै हजारौ विद्यार्थीको आवाज बोल्ने मुख्य ब्यक्तिमा नेपाली हुनुले यहाँ नेपालीहरुको मान मर्यादा पनि बढ्छ।”उनले हाल मेन स्ट्रिम विद्यार्थी राजनीतिमा नेपालीहरु आबद्ध हुनुपर्ने अवस्था आएको भन्दै लुनाको यो कदमले सो अभियानको सुरुवात गरेको बताए । यसरी राजनीति गर्दा विदेशी राजनीति बुझ्ने मौका सँगै आफुलाई भविष्यमा काम लाग्न सक्ने धेरै अनुभवहरु सिक्ने पाउने बताइन्छ । “चुनाव मात्रै लड्दा पनि धेरै कुरा सिकिन्छ, अझ जितिसकेपछि त झन कुरै नगरौ”, सापकोटाले भने ।सापकोटाले यहाँ अध्ययन गरिरहेका नेपालीहरुले विद्यार्थी राजीतिमा जान इच्छुक रहेका छन भने पनि आफुलाई सम्पर्क गर्न सक्ने बताए ।

युटिएस विद्यार्थी संगठन अष्ट्रेलियाकै तेस्रो मानिन्छ । यसमा करिब २ मिलियनको बजेट छ । उक्त बजेटको कार्यान्वयनको पाटो सम्हाल्ने देखी विद्यार्थीका ट्राभल कन्सेक्सन, कोभिडले पारेका चुनौतीहरु सामना गर्न लगायत बिभिन्न बिषयमा बिद्यार्थीको आवाज उठाउनमा मानन्धरको प्रमुख भूमिका रहने छ । त्यतिमात्र नभएर राज्य सरकारहरुले विद्यार्थीहरुको कामहरुमा पनि उनको प्रत्यक्ष समन्वय तथा संलग्नता रहने छ । यसले अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु शक्तिशाली ‘इम्पावर’ हुँदै जान लागेको सन्देश समेत दिएको छ ।