यसरी थाहा पाउनुहोस कोरोना संक्रमण र कोभिड १९ विच फरक

कोरोना संक्रमण र कोभिड एउटै कुरा होइन । यदि लक्षण छैन वा सामान्य छ तर पीसीआर टेस्ट पोजिटिभ देखिएको छ भने त्यो कोरोना संक्रमण हो, कोभिड होइन । यदि संक्रमण बढेर निमोनिया भयो वा सास फेर्न धेरै गाह्रो भयो, संक्रमण अन्य अंगमा पुगेर असर गर्‍यो भने त्यो कोभिड हो । त्यसैले पीसीआर पोजिटिभ आउँदैमा आत्तिनु पर्दैन ।

कोरोना संक्रमण हाम्रो रोग प्रतिरोधात्मक क्षमताले जित्न सक्छौं । यदि जित्न सकेनौं भने संक्रमण रोगको रूपमा अर्थात् कोभिडमा पुग्दछ । कोभिड भयो भने उपचारको जरुरी हुन्छ । अक्सिजन, एन्टिभाइरल औषधि, द्वितीय संक्रमणको लागि एन्टिबायोटिक, स्टेरोइड, प्लाज्मा थेरापी, हाइफ्लो अक्सिजनसहित आईसीयू तथा भेन्टिलेटरको प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । जसरी एचआईभी पोजिटिभ आउनु र एड्स लाग्नु एउटै होइन । त्यसैगरी पीसीआर पोजिटिभ आउनु र कोभिड लाग्नु एउटै होइन ।

यदि कोरोना भाइरस नाक, मुख र नगन्य रूपमा आँखाबाट हाम्रो शरीरमा प्रवेश गर्‍यो, भाइरसको संख्या वृद्धि भयो तथा ती विजातीय भाइरसलाई हाम्रो शरीरले निष्कासन गर्न प्रयत्न गर्‍यो भने त्यस अवस्थामा खोकी लाग्ने, तापक्रम बढ्ने जस्ता सामान्य लक्षण देखिन्छन् । संक्रमणको कारण इम्युनिटी पावर कमजोर हुन्छ । संक्रमण भनेको भाइरस विरुद्धको एक प्रकारको इम्युन रेस्पोन्स हो अर्थात् शारीरिक प्रतिक्रिया हो ।

कुनै पनि जीवाणु वा विषाणुले शरीरमा आक्रमण गर्नु र शरीरभित्र वृद्धि हुनुलाई संक्रमण भनिन्छ । समयमा संक्रमण पहिचान भएमा उपचार सजिलो हुन्छ । साथै रोगको रोकथाम र थप फैलावट रोक्दछ । उदाहरणको लागि फोक्सोमा संक्रमण भएमा एलर्जी हुने, सास फेर्न गाह्रो हुने, रुघा लाग्ने, खोकी लाग्नेजस्ता लक्षण देखिन्छन् । कोरोना भाइरस शरीरभित्र प्रवेश गरेपछि भाइरस धेरै संख्यामा (प्रजनन्) रेप्लिकेट भएपछि उक्त व्यक्तिलाई हानी गर्दछ । संक्रमणमा लक्षणहरू देखिन पनि सक्छ, नदेखिन पनि सक्छ ।

शरीरको इम्युनिटी पावर कमजोर भएमा भाइरसले आक्रमण गरेको भागमा कोषहरूलाई नोक्सान गर्दछ । रोग लागेपछि उपचारको आवश्यक हुन्छ । उदाहरणको लागि फोक्सोमा रोग लागेमा निमोनिया, ब्रोंकाइटिस, क्षयरोग आदि हुन्छ । यदि संक्रमण रगत वा लिम्फवाहिका मार्फत् सम्पूर्ण शरीरमा फैलिन्छ भने यो शरीरको सबै ठाउँमा पुग्छ । यदि यो फैलिएन र संक्रमित ठाउँमा मात्र रह्यो भने यसलाई स्थानीयकरण भनिन्छ ।

जब शरीरको अवस्था सामान्य र कार्यात्मक अवस्थाबाट असामान्य र कार्य क्षमता ह्रासको अवस्थामा परिवर्तन हुन्छ, केही खास प्रकारका लक्षणहरू देखिन्छ त्यसलाई रोग भनिन्छ । सबै कोरोना संक्रमितलाई कोभिड हुँदैन तर सबै कोभिड बिरामीलाई कोरोना संक्रमण भएको हुन्छ । (डा. रविन्द्र पाण्डे, लोकान्तर)