तक्दीर अधिकारी
होवार्ट – नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा अस्ट्रेलियाको तास्मानियामा नेपाली कथानक चलचित्र आमा प्रदर्शन भएको छ । एएसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको विशेष पहलमा तास्मानियाको होवर्ट स्थित स्टेट सिनेमामा २० गते मंगलबार चलचित्र प्रदर्शन भएको होे । अहिलेको अवस्था जे जस्तो भएपनि यस विषम परिस्थितीबाट माथि उठनुपर्छ भन्ने सकारात्मक सन्देश दिने गरी चलचित्र प्रदर्शन गरिएकोे इन्टरटेनमेन्टका निर्देशक तथा चलचित्रका सहनिर्माता समेत रहेका सन्तोष अधिकारीले बताए । 
साँझ ६ बजेबाट शुरु भएको चलचित्र ५० जनाले हेर्ने मौका पाएका छन् । हलमा २ सय जनाको सिट रहेको भएपनि सामाजिक दूरी पालना गरी हाललाई ५० जनालाई मात्र चलचित्र देखाइएको अधिकारीले बताए । अर्काे पटक भाईटीकाको अवसरमा चलचित्र पुनः प्रदर्शन गरिने भएको छ ।
कोरोना महामारीको कारण सिनेमा जगत पनि ठप्प अवस्थामा रहेको समयमा निराश भएका दर्शकलाई यसले सकारात्मक बल प्रदान गर्ने अधिकारीले जानकारी दिए । परिस्थिती सँग जुधेरै भएपनि ठप्प रहेको सिनेमा जगतलाई माथि उठाउन सकिने सन्देश यस प्रदर्शनले दिएको बताइएको छ । जसका कारण सिनेकर्मी तथा दर्शक दुवै उत्सुक भएका छन् ।
दिपेन्द्र के खनालको निर्देशन रहेको उक्त चलचित्रको निर्माता शर्मिला पाण्डे हुन भने सहनिर्माता सन्तोष अधिकारी हुन् । आमाले नेपाली समुदायमा आमाले गर्ने संघर्ष देखाइएको छ । जसमा एक बिरामी बाबूको उपचार गर्न पैसाको अभाव हुँदा छोरीले निभाएको भूमिका र छोराले जिम्मेवारीबाट भाग्न खोजेको विषय देखिन्छ । अन्तिममा पिताको निधनमा छोरीले नै किरिया गर्छिन । यो चलचित्रमा अभिनेत्री मिथिला शर्मा शीर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोेरीको भुमिकामा छिन् । त्यस्तै सरिता गिरी पनि चलचित्रमा प्रमुख पात्र छिन् ।
दशैको अवसरमा तास्मानियामा चलचित्र आमा प्रदर्शन, अर्काे प्रदर्शन भाईटीकामा हुने






