अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरुको लागि राजगारीमूलक विशेष अनलाइन वेबिनार हुँदै

तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपयोगी ठानिएको इन्टरनेशल स्टुडेन्ट इम्प्लोइब्लिटी  अनलाइन वेबिनार सञ्चालन हुने भएकोे छ । विशेष गरी विद्यार्थीहरुलाई रोजगारी प्राप्त गर्नको निम्ती रोजगार दाताहरुले अपेक्षा गर्ने क्षमता तथा योग्यताहरुको विषयमा जानकारी दिने उद्धेश्य अनुरुप अस्ट्रेलिया राज्य सरकारहरुको सहयोगमा स्टुडेन्ट जब अस्ट्रेलियाले उक्त कार्यक्रम गर्न लागेको हो । जसमा सिसा, स्टडी पर्थ, स्टडी क्विन्सल्याण्ड, इन्डिपेन्डेन्ट हाइयर एजुकेसन अष्ट्रेलिया लगायतका संस्थाले सहयोग गर्ने भएका छन् ।

विद्यार्थी नेता तथा (सिसा) का पुर्वअध्यक्ष विजय सापकोटाका अनुसार वेभनारमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई चाहिने सूचनाहरु उपलब्ध हुनेछन् । विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थीका लागि गरी जागीर र विद्यार्थीको भविष्य सम्बन्धी सूचनाहरु उपलब्ध गराइने छ । अस्टे«लियामा अन्तर्राष्ट्रिय विद्यार्थीको भविष्य कस्तो छ, चुनौतिहरु के छन् ? कोभिड–१९ पछि अन्तर्राष्ट्रिय विद्यार्थीलाई जागीर उपलब्ध गराउनका लागि नीति निर्माण तहमा के–के कुरा भइरहेको छ भन्ने बारेका जानकारी वेभनारमा उपलब्ध गराइने छ । यस अघि यस प्रकारका कार्यक्रममा सहभागिता जनाउन अधिकतम ३ सय डलर सम्म लाग्ने गरेको थियो । तर यसपटक भने विद्यार्थीहरुमा हौसला बढाउने उद्धेश्य सहित निशुल्क रुपमा सहभागिता प्रदान गरिनेछ ।

सापकोटाका अनुसार सो कार्यक्रममा रोजगारीदाताहरुले कस्तो खालको ब्यक्ति आफ्नो कम्पनी वा फर्ममा खोजेका हुन्छन् भन्ने विषयमा प्रष्ट जानकारी पाउन सकिनेछ । “खासगरी पछिल्लो समय अन्तराष्ट्रिय विद्यार्थी बनेर अष्ट्रेलिया आउने विद्यार्थीहरुमा डिग्री त पुरा हुने, तर रोजगारीको निम्ती आवश्यक पर्ने सब स्किल्स अर्थात सीपहरु जस्तै बोल्ने, कन्भिन्स गर्ने लगायतका ज्ञानको कमी हुने भएकोे कारण उनीहरुले डिग्री अनुसारको जागिर पाउन सकेका छैनन्” उनले भने, “यस परिप्रक्ष्यमा यस कार्यक्रमले ती विषयमा विद्यार्थीलाई उत्प्रेरणा बढाउदै मनोबल दिने काम गर्ने अपेक्षा गरिएको छ।” उनका अनुसार रोजगारीको क्षेत्रमा अष्ट्रेलियाका राज्यहरु एडिलेड, क्विन्सल्याण्ड, न्यू साउथ वेल्स, पर्थ सरकारले बनाइरहेको योजना, विद्यार्थी तथा रोजगारदाता संगठनहरुले गरिरहेको अभ्यासहरु उक्त फेस्टिबलमा सिकाइनेछ । “२१ औ शताब्दिमा कार्यक्रम कस्तो हुन्छ भन्ने कुरा पनि विद्यार्थीहरुले सिक्न सक्छन्।”उनले भने । त्यतिमात्र नभएर अष्ट्रेलियामा उच्च सम्मान पाएका र अन्य देशमा समेत आफुलाई स्थापित गराएका सफल व्यक्तिहरुलाई बोलाएर उनीहरुको सफलताको कथा समेत सुन्ने र जान्ने अवसर प्राप्त हुने उनले बताए । उदाहरणको निम्ती अष्ट्रेलियाका पूर्व अन्तराष्ट्रिय विद्यार्थीहरु जसले अन्तराष्ट्रिय स्तरमा ७ विलियन डलरको प्रोजक्टमा ७ तारे होटलहरु बनाउने काम गरिरहेका छन्, ती व्यक्तिहरु पनि बोल्नेछन् ।

२८ गते विहान ११ बजेदेखी सुरु हुने कार्यक्रम ५ घण्टाको हुनेछ, जसमा ५ जना वक्ताहरुले ५ विषयमा रहेर आफ्ना अनुभवहरु प्रस्तुत गर्नेछन् । कार्यक्रममा सहभागिताका लागि पहिला दर्ता गर्नुपर्छ । सिट सीमित भएकाले दर्ता प्रकृया गरिएको हो । दर्तापछि लिंक उपलब्ध गराइन्छ, त्यो लिंकमा गइसकेपछि कार्यक्रममा सहभागी हुन पाइन्छ । यो वेभनार अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अत्यन्त उपयोगी ठानिएको छ, जसमा कलेज र एजुकेशन कन्स्लटेन्सीले उपलब्ध गराउने सूचनाभन्दा पृथक र अति उपयोगी जानकारी प्राप्त हुने भएकाले कार्यक्रममा सहभागी हुँदा फाइदै पुग्ने बताइन्छ । विद्यार्थी लगायत सञ्चारकर्मी अथवा नेपाली समाजमा काम गर्ने लब्ध प्रतिष्ठित र एजुकेशन कन्सेल्टेन्सीहरु सहभागी हुँदा उपयोगी हुने भएकाले सिसाका पूर्व प्रेसिडेन्ट सापकोटाले सबैलाई सहभागिताका लागि अनुरोध गरेका छन् ।