किन खोसियो ईश्वर पोखरेलबाट रक्षा मन्त्रालय ?

काठमाडौँ – पार्टी र सरकारमा कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीका उत्तराधिकारीका रुपमा हेरिएका ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएर उपप्रधानमन्त्रीमा सीमित पारिएको घटनाले सत्तारुढ नेकपाभित्र खैलाबैला मच्चिएको छ।

यसका साथै बालुवाटारको सरकारी जग्गा खरिद बिक्री प्रकरणमा जोडिएका विष्णु पौडललाई अर्थमन्त्रीमा नियुक्त गरिएको विषयमा पनि सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध आलोचनात्मक टिप्पणीहरु अभिव्यक्त भएका छन्।

अर्थमन्त्रीमा पौडेललाई जिम्मेबारी दिएर पोखरेललाई विना विभागीय मन्त्रीमा सीमित गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली किन पुगे भन्ने विषयले सत्तारुढ दलभित्र खैलाबैला भएको हो।

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद हेरफेर गर्दै रक्षामन्त्रीबाट पोखरेललाई हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । यो घटनालाई राजनीतिक विश्लेषक सुरेन्द्र केसीले कारबाही गर्नुपर्ने व्यक्तिलाई चतुरताका साथ दण्डित गरेको अर्थमा बुझ्न सकिने बताए। नेपाली सेनासँग चिसिएको सम्बन्धका कारण पनि प्रधानमन्त्रीले पोखरेललाई रक्षामन्त्रालयबाट झिकेको उनको बुझाई छ।

केपी शर्मा ओलीको नेतृत्वमा बनेको मन्त्रिपरिषदमा पोखरेललाई सुरुदेखि नै प्रभावशाली र आकर्षक मानिने रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

तर पछिल्लो समय नेपाली सेनालाई मन्त्री पोखरेलले अपमान गरेको र आनवश्यक विवादमा तानेको गुनासो प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री ओलीसँग गरेका गिए।

पोखरेललाई कोरोना माहामारी रोकथामका लागि गठित उच्चस्तरीय समितिको संयोजक बनाइए पनि त्यसको प्रभावकारितालाई लिएर प्रश्न उठेको थियो भने मेडिकल सामग्री खरिद प्रकरणमा भएको अनियमितामा पनि पोखरेलको नाम जोडिएको थियो।

योसँगै विभिन्न उच्च ओहदामा आफन्तलाई नियुक्त गरेको विषयले पनि पोखरेल विवादमा तानिएक थिए ।

राजनीतिक विश्लेषक लोकराज बरालले नेपाली सेनासँग भएको खटपटले नै ईश्वर पोखरेलको मन्त्री पद गुमेको हुन सक्ने बताए ।

सैनिक मुख्यालयसँग सम्बन्ध बिग्रेका पोखरेलसँग पछिल्लो समयदेखि प्रधानमन्त्री ओली समेत असन्तुष्ट रहेको उनको दाबी छ।

विष्णु पौडेललाई अर्थमन्त्री बनाइएको विषय भने प्रिय पात्रलाई उपहार दिए सरह रहेको बरालको टिप्पणी छ।

प्रधानमन्त्री ओलीले बुधबार गरेको मन्त्रिपरिषद हेरफेरमा नेकपाका महासचिव समेत रहेका विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरूको शपथ आज हुने बताइएको छ।NRN