वालिङ। पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ । अन्य चार जना अझै बेपत्ता छन् ।
एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी उता पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटमा पहिरोले दुई वटा घर बगाउँदा पाँच जना बेपत्ता भएका छन्।पहिरोले फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरीका अनुसार हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएका भएका हुन्। बेपत्ता हुनेहरूमा एकजना पुरुष, २ महिला र २ बालिका रहेका छन्। बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो।
मनबहादुर गाहाको परिवारका तीन जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्। रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भइरहेको बताए। उद्धारका लागि जिल्ला प्रहरी कार्यालय, पाल्पाको टोली घटनास्थलतर्फ हिँडेको छ।






