महामारीमा मिडियाको भूमिकाः सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम

लण्डन ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आइतबार “महामारीमा सञ्चारमाध्यमको भूमिका” विषयमा छलफल सम्पन्न भएकोे छ । विभिन्न सञ्चारमाध्यम तथा मिडिया हाउसका प्रत्रकारहरुले महामारीकोे समयमा आफुहरुले निभाएको भूमिकाको विषयमा आफ्ना धारणा ब्यक्त गरेका छन् । नेपाल ब्रिटेन डटकमका प्रधानसम्पादक तथा नागरिक दैनिकका लण्डन संवाददाता चिरन शर्माले महामारीको सुरुवाती चरणदेखि नै गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा यसअन्तर्गतको स्वास्थ्य समितिसँगको सहकार्यमा देश तथा विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अवस्थाबारे प्रतिवेदन तयार गरी आम सञ्चार माध्यममा पुराइएको जानकारी दिए । तर लण्डनमा बसेर सूचना स्रोतसम्म पुग्न अप्ठ्यारो अवस्था रहेकाले सेकेण्डरी सूचनाका स्रोतबाट पनि आममानिसलाई सूसूचित गर्नु परेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै कान्तिपुर दैनिकका सहायक सम्पादक देवेन्द्र भट्टराईले महामारीको समयमा पनि मिडियाले राज्यलाई खबरदारी गर्ने काममा कुनै कसर बाँकी नराखेको बताए । तर राज्यले भने मिडियाको खबरदारीका बाबजुत पनि सुस्त प्रदर्शन गरीरहेको उनको तर्क छ ।महामारी नियन्त्रणमा केन्द्रित हुन छोडेर सरकार मन्दिर निर्माण, सर्प पालन, सरकार पुनर्गठन तथा पद बाँडफाँडमा बढी केन्द्रित हुनु दुखद रहेको उनले बताए । त्यतिमात्र नभएर महामारीकै समयमा अनियमितता, भ्रष्टाचार लगायत कुप्रवृति मौलाएकोले यस तर्फ निजी तथा सरकारी सञ्चारमाध्यमले खबरदारी अझै बढाउनुपर्ने उनले बताए । नयाँ पत्रिका दैनिककी उपसम्पादक मुना कुँवरले मिडियाको तर्फबाट अनुसन्धानमूलक तथ्यपूर्ण समाचार सम्प्रेषण गरिरहेको भएपनि सरकारबाट अपेक्षित नतिजा आउन नसकेको औल्याउँदै मिडियाले अझ बढी पहरेदारको भूमिका खेलेर खबरदारी गर्न जरुरी रहेको सुनाइन् ।

कार्यक्रममा रेडियो कान्तिपुरकी उपसम्पादक इन्द्रलक्ष्मी घिमिरेले पनि कोभिड १९ महामारीको समयमा मौलाएका विकृति विसंगति उजागर गर्न नेपाली मिडियाले महत्वपूर्ण भूमिका निभाएको अनुभव सुनाइन् । नेपालमा अझै करिब ५५ प्रतिशत रेडियो प्रयोगकर्ताहरु रहेकाले रेडियोबाट प्रसारण गरिएका जनचेतनाका विषयहरु समुदायसम्म पुगेको उनको भनाई छ । नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक अनिता बिन्दुले सरकारी अथवा निजी सञ्चारमाध्यमहरुले आफ्नो स्रोत साधनले थेग्न सकेसम्मको समाचार तथा सूचनाहरु सम्प्रेषण गरिरहेको बताइन् । स्वास्थ्य सुरक्षाका सामग्रीको अभावका बाबजुद पनि पत्रकारहरु फ्रन्टलाइनमा खटिएर सत्यतथ्य सूचना दिन अग्रसर रहेको उनको भनाई छ । तर यस जटिल परिस्थितीमा पनि अफवाहहरु फैलाउने माध्यमको रुपमा पनि केही सञ्चार माध्यम प्रयोग भएको भन्दै यसले समाजमा नकारात्मक असर पैदा गरेको बताइन् ।

त्यसैगरी अन्नपूर्ण दैनिकका वरिष्ठ सम्वाददाता तुल्सी सुवेदी तथा नेपाल टेलिभिजका कार्यक्रम प्रस्तोता किशोर निरौलाले पनि आफ्नो धारणा राखेका थिए । गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले सञ्चार माध्यमहरुले महामारीका समयमा स्वास्थ्यकर्मी र आम जनसमुदायबीच पुलको भूमिका खेलीरहेको भन्दै मिडियाले सहि सूचना सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने तर्क गरे । पछिल्लो समय केही सञ्चारमाध्यमहरुमा सनसनीपूर्ण हेडलाइन राखेर समाचार सम्प्रेषण गर्ने प्रवृतिले गर्दा समुदायमा नकारात्मकता फैलिएको उनको भनाई छ । बीबीसी नेपाली सेवाका पूर्व संवाददाता भगीरथ योगीले सञ्चालन गरेको उक्त कार्यक्रमको संयोजन गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अध्यक्ष डा संजिव सापकोटाले गरेका थिए भने उक्त अवसरमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु तथा सरोकारवालाहरुको उपस्थिति थियो ।